Breaking News.... EverestOnlineKhabar
April 30, 2026

सातै प्रदेशका सभामुखको भेला चितवनको सौराहामा, संघीयतालाई सफल बनाउने दायित्व सबैको भएको निष्कर्ष

Loading

चितवन । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले संघीयतालाई सफल बनाउने दायित्व सबैको भएको बताउनु भएको छ । प्रदेश ३ को प्रदेशसभा सचिवालयले चितवनको सौराहामा आयोजना गरेको अन्तर–प्रदेशसभा अनुभव आदान प्रदान तथा अन्तक्र्रिया कार्यक्रम सभामुख महराले संघीयतालाई सफल बनाउने दायित्व सबैको भएको बताउनु भएको हो ।

नेपालमा संघीयता नयाँ अभ्यास भएको उल्लेख गर्दै उहाँले त्यसलाई सफल बनाउने दायित्व सबैको भएको बताउनुभयो । उहाँले अधिकार हस्तान्तरण गर्दै संघीयतालाई समृद्ध बनाउँदै जानुपर्नेमा जोड दिनुभयो । ‘अमेरिकामा अढाई सय वर्षदेखि संघीयता भए पनि त्यहाँ समस्या छन्,’ सभामुख महराले भन्नुभयो, ‘समस्याहरुसँग जुध्दै जाँदा परिपक्व हुन्छ ।’

सभामुख महराले संसद सबै विचार र भावनाको अभिव्यक्त गर्ने थलो भएकाले संघीय संसद र प्रदेश सभाबीच साझा फोरम निर्माण गरेर नियमित छलफल गरेर समस्या समाधान गर्नुपर्नेमा जोड दिनुभएको संघीय संसद सचिवालयले जनाएको छ ।

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संघीय संसद र प्रदेश सभाले साझा अधिकारका सूचीबारे आगामी हिउँदे अधिवेशनबाट छलफल हुने भन्दै त्यसपछि प्रदेश सभालाई कानून बनाउन सहज हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले सरकारले बिजनेस नदिएसम्म प्रदेशसभा कामबिहीन हुने उल्लेख गर्नुभयो । तर, प्रदेशसभाले काम गरेन भनेर गलत प्रचार हुने गरेको उहाँले बताउनुभयो ।  प्रदेश सभामा भौतिक पूर्वाधार र कर्मचारी व्यवस्थापनमा समस्या रहेको बताउँदै ती समस्यालाई समाधान गर्नुपर्नेमा उहाँले जोड दिनुभयो ।

प्रतिनिधिसभाका उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले नयाँ संविधान कार्यान्वयनका लागि अन्तर प्रदेश सभाबीचको छलफल फलदायी हुने विश्वास व्यक्त गर्नुभयो । ‘संसदीय अभ्यासालई प्रक्रियामा लैजान चुनौती छन्,’ उहाँले भन्नुभयो, ‘संसदीय अभ्यासलाई उचाईमा पुर्‍याउन एउटा इँटाको काम गर्नेछ ।’

राष्ट्रिय सभाका उपाध्यक्ष शशिकला दाहालले संघीय संसद र प्रदेश सभाका समस्या साझा रहेको भन्दै मिलेर समाधान गर्नुपर्नेमा जोड दिनुभयो ।  कार्यक्रममा प्रदेश सभाका सभामुख र उपसभामुखले भौतिक पूर्वाधार, मानव संशाधन र मर्यादा क्रम निर्धारण सच्याउनुपर्नेमा जोड दिनुभएको छ ।

प्रदेश सभाका सभामुख–उपसभामुखले संसदीय प्रणालीका ज्ञान भएका जनशक्ति नभएको, दरवन्दीको व्यवस्था न्यून रहेको, मर्यादाक्रम नमिलेको, प्रदेशका पदाधिकारी संघ जाादा समन्वय अभाव रहेको बताउनुभयो । उहाँहरुले साझा सूची व्यवस्थित गर्न ढिला भएको पनि बताउनुभयो । संसदमा काम गर्ने कर्मचारीले अतिरिक्त समयको सुबिधा नभएको, कर्मचारी प्रदेश सभामा काम गर्न इच्छुक नरहेको लगायतका अनुभव उहाँहरुले सो कार्यक्रममा राख्नुभएको संघीय संसद सचिवालयले जनाएको छ ।

उपसभामुखहरुले भने आफूहरुको मर्यादाक्रम सच्याउनुपर्ने, भूमिका बढाउनुपर्नेमा जोड दिनुभयो ।  संघ र प्रदेश सभाका कानुन निर्माणको अवस्था, समस्याहरु, भौतिक पूर्वाधार सहित आन्तरिक व्यवस्थापन लगायतका विषयमा अनुभव आदान प्रदान गर्न कार्यक्रम गरिएको हो । संघीय संसद र प्रदेशसभाबीच अनुभव आदान प्रदान गर्न पहिलोपटक गत भदौ ३ गते काठमाडौंको चन्द्रागिरीमा संघीय संसद र प्रदेशसभाको नेतृत्वबीच सामूहिक अन्तक्र्रिया भएको थियो । कार्यक्रममा संघीय संसद (प्रतिनिधिसभा/राष्ट्रिय सभा) तथा प्रदेश सभाका पदाधिकारी एवं सचिवहरुको सहभागिता रहेको संसद सचिवालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed