![]()
जनकपुर । रामजानकी विवाह महोत्सवमा सहभागी हुन श्रद्धालुहरुको जनकपुर आउने क्रम जारी छ । अयोध्याबाट जन्तीहरुकको एक समूह जनकपुर आएसँगै श्रद्धालु भित्रिने क्रम सुरु भएको हो । मंगलबार र बुधबार श्रद्धालु भित्रिने क्रम जारी रहने छ ।
राममन्दिर परिसर, धनुषसागर वर्षाती, जनकमन्दिर, रेल्वे स्टेशन तथा बाह्रबिघा रंगभूमि मैदानमा श्रद्धालुहरुले विश्राम गरेका थिए ।श्रद्धालुकाे आवासका लागि यी स्थानहरुमा टेन्टको व्यवस्था गरिए पनि खानेपानी, शौचालयआदिको पर्याप्त व्यवस्था नरहेको उनीहरुले गुनासाे गरेका छन् ।
सप्ताहव्यापी रामजानकी विवाह महोत्सवको मुख्य आयोजन बुधबार हुनेछ । मुख्य आयोजनमा भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ सहभागी हुने कार्यक्रम छ । विशेष विमानबाट जनकपुर आउने मुख्यमन्त्री योगी जानकी मन्दिरमा पूजा अर्चना गर्नुका साथै प्रदेश सरकारले आयोजना गर्ने दिवाभोजमा सहभागी हुने कार्यक्रम छ । त्यस पछि उनी बाह्रबिघा पुग्नेछन् । जहाँ रामजानकी विवाह महोत्सवको विशेष कार्यक्रम आयोजना हुनेछ ।
महोत्सवका सहभागी हुने विशिष्ट अतिथि तथा श्रद्धालुहरुको शान्ति सुरक्षाका लागि स्थानीय प्रशासनले झण्डै ४ हजार सुरक्षाकर्मी परिचालन गरेको छ ।


