![]()
काठमाडौँ। वाइडबडी खरिद प्रक्रियामा भएको अनियमितताबारे छानबिन गर्न गम्भीर नभएको भन्दै पर्यटनमन्त्री रविन्द्र अधिकारीप्रति सांसदहरु आक्रोशित भएका छन्। संसदको सार्वजनिक लेखा समितिमा जवाफ दिन बोलाइएका मन्त्री अधिकारीले वाइडबडी खरिद प्रक्रियामा अनियमितिता नभएको र यस विषयमा लेखा समितिले सहयोग गर्नुपर्ने भनाइ राखेपछि उनीप्रति सांसदहरुको आक्रोश पोखिएको हो।
सांसदहरुले मन्त्री अधिकारीलाई ‘तपाईँले कत्ति पनि गम्भीरता प्रकट गर्नुभएन’ भन्दै आक्रोश पोखेका थिए। ‘लेखा समितिमा आएर विद्यार्थी नेताको जस्तो भाषण गरेर हुन्छ ? तपाईको पद अनुसारको जिम्मेबारी लिन सक्नुपर्छ कि पर्दैन?’ सांसद ह्दयेश त्रिपाठीले भने, ‘लेखा समितिले सहयोग गर्नुपर्यो भनेको के हो ?’
अर्का सांसद अमनलाल मोदीले पनि मन्त्री अधिकारीको समितिले सहयोग गर्नुपर्यो भन्ने अभिव्यक्तिप्रति चर्काे आक्रोश पोखे।
‘समितिले सहयोग गर्ने भनेको के हो ? हामीले भ्रष्टाचार गरेका छौँ, छानबिन नगरदिए हुन्थ्यो भनेको हो कि भ्रष्टाचारलाई अनुमोदन गरिदिनुहोस् भनेको हो? यदि त्यसो हो भने मन्त्रीज्यू तपाईँ मन्त्रालबाट लेखेर पठाउनुहोस् हामी अनुमोदन गरिदिन्छौँ,’ मोदीले भने।
यस्तै सांसद तेजुलाल चौधरीले पनि वाइडबडी खरिद प्रक्रियामा मुछिएकाहरुलाई नै छानबिन समितिमा राखेको भन्दै विरोध जनाए।
‘मन्त्रालय आफैले छानबिन समिति बनाउने ? त्यो समिति मार्फत तपार्इँले कस्तो परिणाम निकाल्नुहुन्छ ? यसमा मेरो ठूलो आपत्ति छ,’ उनले भने ।
सांसद मिनेन्द्र रिजालले पनि मन्त्री अधिकारीले अत्यन्त निराशाजनक जवाफ दिएकोमा आफूलाई दुःख लागेको बताए ।
‘तपाईले निराशाजनक जवाफ दिनुभयो हामीले तपाईँलाई आशा गरेको नेता मानेका थियौँ तर हाम्रो दूर्भाग्य साबित होला जस्तो छ । मन्त्री ज्यू वाइडबडी खरिद प्रक्रिायमा के तपाई आफै सन्तुष्ट हुनुहुन्छ? यदि हुनुहुन्छ भने किन हुनुहुन्छ, हुनुहुन्न भने किन हुनुहुन्न ? जवाफ चाहियो । तपाई अस्पष्ट भएर हुँदैन ।’
उनले अगाडि भने, ‘म त के निश्कर्षमा पुगेको छु भने वाइडबडी खरिदमा घोटाला पक्कै भएको छ, सत्यतथ्य बाहिर ल्याउनु पर्छ ।


