Breaking News.... EverestOnlineKhabar
April 30, 2026

ब्रेक्जिट: अन्तत: ब्रिटिश क्याबिनेटद्वारा अनुमोदन

Loading

बीबीसी । महिनौँको सघन वार्ताहरूपछि पेश गरिएको युरोपेली संघ इयु छोड्ने ब्रेक्जिट सम्बन्धी सम्झौता प्रस्तावमा सहमति भएको छ। ब्रिटिश प्रधानमन्त्री टरिजा मे ले ब्रिटेनको बहिर्गमनसम्बन्धी विस्तृत शर्तहरूबारे इयुसँग भएको मस्यौदा सम्झौतालाई आफ्नो मन्त्रिपरिषदले अनुमोदन गरेको बताएकी छन्।

मन्त्रिपरिषदमा लामो र सघन छलफल भएको उनले बताइन्। “हाम्रा सामु अप्ठेरा विकल्पहरू थिए। तर यो उपलब्धमध्ये उत्तम विकल्प हो र यो ब्रिटेनको राष्ट्रिय स्वार्थ बमोजिम छ,” उनले भनिन्।

मन्त्रिपरिषदमा ९ जना मन्त्रीहरूले उक्त प्रस्तावको विरोधमा बोलेको  थाहा भएको छ। विपक्षी लेबर दलका नेता जेरेमी कोर्बीनले उक्त सम्झौता ब्रिटेनको राष्ट्रिय स्वार्थ अनुकुल भएको आफूलाई नलागेको बताए। उनको दलले सो प्रस्तावको विपक्षमा संसदमा मत दिने कि नदिने बारे बिहीवार निर्णय हुने उनले बताए।

सत्ताधारी कन्जरभेटिभ दलभित्रै पनि सो प्रस्ताव विरुद्ध मत बलियो रहेको छ। महिनौँदेखि अन्योलमा रहेको सम्झौताबारे ब्रिटिश सरकारको निर्णयको युरोपेली नेताहरूले स्वागत गरेका छन्। युरोपेली युनियनका ब्रेक्जिटसम्बन्धी मुख्य वार्ताकार मिसेल बार्नियरले ब्रिटेनको निर्णय स्वाभाविक रूपमा ब्रेक्जिट कार्यान्वयनतर्फ महत्त्वपूर्ण भनेका छन्।

उनले दुवै पक्षले ‘निर्णायक प्रगति’ हासिल गरेको बताए। अब यसपछि २७ सदस्य रहेको इयुका नेताहरूको शिखरबैठक डाकिनेछ। यसै महिना हुनसक्ने सो बैठकले उक्त सम्झौता अनुमोदन गर्नुपर्नेछ। त्यसपछि पनि सो सम्झौतालाई ब्रिटिश संसद तथा युरोपेली संसदले अनुमोदन गर्नुपर्नेछ। मार्च २०१९ मा ब्रिटेन औपचारिक रूपमा इयुबाट बाहिरिने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed