Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

एजेन्सी । बार्सिलोना रियाल बेटिससँग पराजित भएको दिन रियाल मड्रिडले सेल्टा भिगोमाथि ४–२ को जित हासिल गर्दै स्पेनिस ला लिगामा शीर्ष टोलीसँगको दूरी कम गरेको छ ।

लुका मोडरिचको पासमा करिम बेन्जेमाले चुस्त गोल गर्दै अग्रता दिलाएको रियाल विपक्षी खेलाडी गुस्ताभो काबरालले भलीमा आत्मघाति गोल गरेपछि २–० ले अघि लाग्यो । बेन्जेमाले २३औं मिनेटमा अग्रता दिलाएका थिए भने काबरालले ५६औं मिनेटमा आत्मघाति गोल गरेका थिए । ह्युगो मालोले ६१औं मिनेटमा गोल गर्दै घरेलु मैदानमा सेल्टालाई खेलमा फर्काउने संकेत गरेका थिए । तर समय सकिन सात मिनेट बाँकी रहँदा सर्जियो रामोसले पेनाल्टीमा गोल गर्दै रियाललाई ३–१ ले अघि बढाए ।

भ्रमणकारी टोलीका लागि ड्यानी सेबालोसले अन्तिम मिनेटमा अर्को गोल थपे भने सेल्टाका ब्राइस मेन्डेजले इन्जुरी समयमा एक गोल फर्काउँदै हार अन्तर कम गरे । घरेलु समर्थकका सामु आइतबार खलनायक सावित भएका सेल्टाका रक्षक काबरालले समय सकिन तीन मिनेट बाँकी रहँदा दोस्रो पहेलो कार्डसँगै रातो कार्ड सामना गरेर मैदान छोडे ।

शीर्ष स्थानको बार्सिलोनाले रियाल बेटिसलाई ४–३ को नतिजा सुम्पिएको थियो । घरेलु मैदानमा भएको लिग खेलमा बार्सिलोनाले हार बेहोरेको यो दुई वर्षमा पहिलो पटक हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed