![]()
काठमाडौं। सर्वोच्च अदालतले गोरखापत्र संस्थानका महाप्रबन्धकबाट वसन्तप्रकाश उपाध्यायलाई हटाउने सरकारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ।
न्यायाधीश ईस्वर खतिवडाको एकल इजलासले उपाध्यायलाई हटाउने आइतबारको मन्त्रिपरिषद् बैठकको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको हो। सर्वोच्चको यो आदेशपछि उपाध्यायलाई हटाउने सरकारको निर्णय रोकिने भएको छ भने उनलाई काममा फर्काउनुपर्ने भएको छ।
यसअघि उपाध्यायलाई ओली सरकार गठन भएलगत्तै पनि पदबाट अवकाश दिइएको थियो। सरकारको उक्त निर्णयलाई चुनौती दिँदै उपाध्याय सर्वोच्च अदालत पुगेका थिए।
सर्वोच्चले गत असार २९ गते उनलाई पुनर्थापित गरेको थियो। त्यसपछि जिम्मेवारीमा फर्केका उपाध्यायलाई पुनः गत आइतबार हटाउने निर्णय गरिएको थियो।
२०७४ मङ्सिर २५ गते तत्कालीन शेरबहादुर देउवा नेतृत्वको मन्त्रिपरिषद्ले उपाध्यायलाई गोरखापत्र संस्थानको महाप्रबन्धक पदमा चार वर्षका लागि नियुक्त गरेको थियो।


