Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । ब्राजिलको राष्ट्रपतीय चुनावमा उग्र-दक्षिणपन्थी उम्मेदवार जइर बोल्सोनारु विजयी भएका छन्। लगभग सबै मतगणना भइसक्दा बोल्सोनारुले ५५ प्रतिशत मत हासिल गरेका छन्। उनका प्रतिद्वन्द्वी वामपन्थी वर्कर्स पार्टीका फर्नान्डु अडाडको पोल्टामा चाहिँ ४५ प्रतिशत मत परेको छ।

चुनावी अभियानका क्रममा बोल्सोनारुले देशमा व्याप्त भ्रष्टाचार निर्मूल पार्ने र अपराधको दर घटाउने वाचा गरेका थिए। चुनावी अभियान एकदमै विभाजनकारी देखिएको थियो। दुवै पक्षले अर्को पक्ष विजयी भए ब्राजिल ध्वस्त हुने तर्क गरेका थिए। पूर्वसैनिक अधिकारी बोल्सोनारुले विगतमा सैनिक शासनताका ब्राजिल राम्रो भएको चर्चा गर्ने गरेका छन्।

बोल्सोनारुका विपक्षीहरूले चाहिँ उनी ब्राजिलको लोकतन्त्रका निम्ति खतरा भएको तर्क गरेका छन्। यद्यपि जितपछि बोल्दै बोल्सोनारुले ‘संविधान, लोकतन्त्र र स्वतन्त्रता’को आफूले रक्षा गर्ने बताए। उनले भने, “यो कुनै पार्टीको अथवा व्यक्तिको वाचा होइन। यो ईश्वरका सामु लिइएको शपथ हो।”

बोल्सोनारुका केही समर्थकहरूले रियो दि जेनेरोस्थित उनको निवास अगाडि ब्राजिलको झण्डा फहराउँदै र पटाका पड्काउँदै जितको खुसियाली मनाएका छन्। वर्तमान राष्ट्रपति मिशेल टेमेरलाई प्रतिस्थापित गर्दै बोल्सोनारुले सन् २०१९ को जनवरीमा पद तथा गोपनीयताको शपथ लिनेछन्।

आफ्नो लोकप्रियता दुई प्रतिशतमा सीमित भएको अवस्थामा टेमेर पदबाट बाहिरिँदै छन्। पहिलो चरणमा कुनै पनि उम्मेदवारले बहुमत ल्याउन नसकेपछि आइतवार दोस्रो चरणको चुनाव भएको थियो। भ्रष्टाचार गरेको अभियोगमा जेलसजाय काटिरहेका पूर्वराष्ट्रपति लुइज इनासियो लुला डा सिल्भा चुनावमा उठ्न अयोग्य भएपछि अडाड वर्कर्स पार्टीका प्रमुख भएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed