![]()
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बुधवार बस्ने भनिएको केन्द्रीय सचिवालय बैठक बिहीबारका लागि सारिएको छ । पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठ र उपप्रधानमन्त्री ईश्वर पोखरेल चीन भ्रमणमा रहेकाबेला निर्धारित बैठक स्थगित गरिएको हो ।
सचिवालयमा असन्तुष्टि पत्र दर्ता गराउँदासमेत वास्ता नगरेपछि वरिष्ठ नेता माधव नेपाल असन्तुष्ट छन । प्रदेश कमिटी इन्चार्ज, सह इन्चार्ज लगायत पदाधिकारी चयनमा एकलौटी निर्णय गरेको भन्दै नेपाल रुष्ठ छन । उनको असन्तुष्टिलाई बेवास्ता गर्दै यसअघिको सचिवालय बैठकले निर्णय परिवर्तन नगर्ने जनाएपछि नेपाल आक्रोशित भएका छन । उनले निर्णयप्रति नोट अफ डिसेन्ट पनि लेखेका थिए । नेता नेपाललाई प्रवक्ता श्रेष्ठको पनि साथ रहेको छ ।
अर्का नेता बामदेव गौतमलाई उपनिर्वाचनमार्फत संसदमा ल्याउने योजना तुहिएपछि गौतम पनि अध्यक्ष एवम प्रधानमन्त्री केपी ओलीसंग चिढिएका छन । अर्का वरिष्ठ नेता एवम पूर्व प्रधानमन्त्री झलनाथ खनालको मर्यादाक्रम सम्बन्धी असन्तोष पनि कायमै छ । यस्तोबेला सबै वरिष्ठ नेताहरुको आक्रोश आफूमाथि पोखिने भएपछि अध्यक्ष ओली र दाहाल डराएका छन । यसकारण उनीहरु बैठक लगातार सारिरहेका छन । बैठक बसेपनि सामान्य औपचारिकता निर्वाह गरी टुंग्याउने गरेका छन ।
बुधवार बैठक स्थगित भएपनि बिहीबार बस्ने छ । सो बैठकमा स्थायी कमिटीमार्फत गर्नुपर्ने निर्णय किन पदाधिकारीबाट भन्ने प्रश्न अवश्य उठने छ । तर, आउँदो शनिवार नेकपाले चियापान समारोह आयोजना गरेकाले सचिवालय बैठकको एजेण्डा पनि ‘चिया’ मै सिमित हुने हो कि ? आंशंका कायमै छ ।


