Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । राष्ट्रपति डोनल्ड ट्रम्पले अस्त्रसम्बन्धी रुससँगको शीतयुद्धकालीन एउटा ऐतिहासिक सन्धिबाट संयुक्त राज्य अमेरिका अलग हुने बताएका छन्। पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले सन् १९८७ को ‘इन्टरमिडिएट रेन्ज न्यूक्लियर फोर्सेज’ (आईएनएफ) सन्धिको रुसले ‘उल्लङ्घन’ गरेको बताए।

सो सन्धिले जमिनबाट ५०० देखि ५,५०० किलोमिटरसम्म मार हान्न सक्ने मध्यम-दूरीका क्षेप्यास्त्रको विकासमा प्रतिबन्ध लगाएको छ। ट्रम्पले भनेका छन्, ‘जुन अस्त्रका लागि हामीलाई अनुमति छैन त्यसैको विकास गर्न अमेरिकाले रुसलाई दिनेछैन।’

नेभादा राज्यमा चुनावी र्‍यालीपछि ट्रम्पले भने, “मलाई थाहा छैन कि राष्ट्रपति ओबामाले किन त्यसबारे वार्ता गरेनन् अथवा सम्झौताबाट अलग हुने निर्णय गरेनन्।”

“उनीहरूले कैयौँ वर्षदेखि त्यसको उल्लङ्घन गर्दै आएका छन्।”

रुसले एउटा क्रुज क्षेप्यास्त्रको परीक्षण गरेपछि सन् २०१४ मा तत्कालीन राष्ट्रपति ओबामाले मस्कोले आईएनएफको उल्लङ्घन गरिरहेको आरोप लगाएका थिए। तर त्यतिबेला ओबामाले सो सन्धिबाट अलग नहुने निर्णय लिएको बताइन्छ। त्यसको कारण थियो युरोपेली नेताहरूको दबाब, जसले अलग हुने अमेरिकी निर्णयसँगै अस्त्र विकासको होडबाजी फेरि शुरू हुन सक्ने तर्क गरेका थिए।

रुसी विदेश मन्त्रालयको एउटा स्रोतले अमेरिकी कदम आफू मात्र महाशक्ति रहने ‘एउटै ध्रुव हुने संसारको कल्पनाबाट अभिप्रेरित’ भएको प्रतिक्रिया दिएको छ।

आईएनएफ सन्धिको उल्लङ्घन गर्दै रुसले ‘नोभाटोर नाइनएमसेभेनटुनाइन’ नामक मध्यम-दूरीको एउटा नयाँ क्षेप्यास्त्रको विकास गरेको अमेरिकी भनाइ छ। सो क्षेप्यास्त्रलाई उत्तर एट्लान्टिक सन्धि संगठन (नेटो) ‘एसएससी-एट’ नामले चिन्छ। त्यसबाट रुसले थोरै समयको सूचना दिइ नेटो मुलुकहरूमा पारमाणिक हमला गर्न सक्छ।

सो क्षेप्यास्त्रको विकासबाट आईएनएफ सन्धिको उल्लङ्घन नभएको बताउनुबाहेक रुसले नयाँ क्षेप्यास्त्रबारे केही जानकारी दिएको छैन। विश्लेषकहरू भन्छन्, रुस यस्ता अस्त्रलाई परम्परागत अस्त्रको एउटा सस्तो विकल्पका रूपमा हेर्दछ।

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जन बोल्टनले मस्कोमा यसै हप्ताको अन्त्यतिर मस्कोमा हुने एउटा वार्तामा आईएनएफ सन्धिबाट अमेरिका अगल भएको जानकारी गराउने अपेक्षा गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed