![]()
सोलुखुम्बु । सोलुखुम्बुको पासाङल्हामु गाउँपालिकाका एक शिक्षकले ९ वर्षीया आफ्नै विद्यार्थीलाई बलात्कार गरेका छन्। पासाङल्हामु गाउँपालिका–५ मा डेरा गरी बस्ने ५५ वर्षीय शिक्षक मोहन घिमिरेले ९ वर्षीया बालिकालाई बलात्कार गरेको प्रहरीले जनाएको छ।
हिमालयन प्रावि नाम्चेमा नेपाली पढाउने शिक्षक घिमिरेले मद्यपान गरी आफ्नै विद्यार्थीलाई बलात्कार गरेका हुन्। प्रहरीले उनलाई पक्राउ गरेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ।
मोरङ स्थायी घर भएका घिमिरे सोलुखुम्बुको पासाङल्हामु गाउँपालिका–५ मा डेरा गरी बस्दै आएका थिए। उनी हिमालयन प्राविका स्थायी शिक्षक हुन्। विगत एक दशकअघिदेखि उनले उक्त स्कूलमा अध्यापन गराउँदै आएका थिए। सधैंजस्तै गएको बिहीबार बेलुका पनि घिमिरे रक्सी र मासु खाएर सुतेका थिए।
बेलुकाको मासु रहेपछि उनले पीडित बालिकाकी आमालाई मासु रहेकाले लिन आउन भनेका थिए। आमाले आफ्नी ९ वर्षीया छोरीलाई शिक्षकको डेरामा मासु लिन पठाइन्। झन्डै आधा घन्टासम्म पनि छोरी नआएपछि आमा शिक्षकको कोठामा पुगेकी थिइन्। घर पुग्दा बालिकाकी आमाले शिक्षकलाई रंगेहात पक्राउ गरेको प्रहरीले जनाएको छ।
बलात्कारको आरोप लागेका ५५ वर्षीय शिक्षक घिमिरेलाई प्रहरीले सदरमुकाम सल्लेरीस्थित जिल्ला पह्री कार्यालय लगेर जबरजस्ती करणी उद्योगमा मुद्दा चलाएको छ।


