![]()
विराटनगर। प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले प्रदेशको नाम र राजधानी प्रदेश संसदको हिउँदे अधिवेशनबाट तोकिने बताएका छन्। प्रदेशको यातायात पूर्वाधार विकास मन्त्रालयअन्तर्गत यातायात पूर्वाधार विकास निर्देशनालयको सुनसरीको इटहरी–४ हलगाँडामा स्थापित कार्यालयको उद्घाटन गर्दै उनले भने, ‘प्रदेशको नाम र स्थायी राजधानी सबै राजनीतिक दलको सहमतिमा संविधानको मर्मअनुसार आगामी हिउँदे अधिवेशनबाट निर्णय गरिने छ।’
मुख्यमन्त्री राईले प्रदेश सरकारले भौतिक पूर्वाधार निर्माणमा यस वर्ष ६ अर्ब खर्च गर्ने बताए। उनले प्रदेश सरकारले आफ्नो बजेटको ४० प्रतिशत प्रदेशको पूर्वाधार निर्माणमा खर्च गर्ने पनि बताए। उनले फराकिलो र गुणस्तर सडक एवम् मोटर चल्ने र झोलुङ्गे पुल निर्माण गरी जनताको सेवासुविधामा ध्यान दिनुपर्नेमा प्रदेश सरकारको विशेष जोड रहने पनि स्पष्ट पारे।
मुख्यमन्त्री राईले प्रदेशलाई भ्रष्टाचारमुक्त र सुशासनयुक्त बनाउन सबैको सहयोग आवश्यक रहेको बताउँदै निर्देशनालयलाई प्रदेश सरकारको बजेट र नीति तथा कार्यक्रमअनुसार जनतालाई केन्द्रविन्दुमा राखी कार्य गर्न निर्देशन दिए।
सो अवसरमा प्रदेशसभाका सदस्य सर्वध्वज साँवा र कार्यालयका निमित्त प्रमुख राजेशप्रसाद घिमिरेले सङ्घीयताबाट जनताले आफ्नै घरदैलामो सेवा प्राप्त गर्न सकेकामा खुसी व्यक्त गरे। प्रदेशका मुख्यसचिव केदार न्यौपानले धुले, हिले र असारे विकासबाट प्रदेश सरकार मुक्त हुने विश्वास दिलाए।


