![]()
काठमाडौं । थ्री स्टार क्लबले शहीद स्मारक ए डिभिजन लिग फुटबलमा विजयी सुरुवात गरेको छ । बिहीबार ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा थ्री स्टार क्लबले फ्रेन्ड्स क्लबलाई २-१ गोलले पराजित गर्दै ३ अंक जोडेको हो । थ्री स्टारको जितमा रञ्जन विष्ट र बुद्ध चेम्जोङले गोल गरे । यता, फ्रेन्डस् क्लबका लागि विकास लामाले गोल फर्काएका थिए ।
खेलको ५९ औं मिनेटमा करिब ३० यार्ड टाढाबाट फ्रेन्ड्स क्लबका सरोज योञ्जन लामाले प्रहार गरेको फ्रिकिक गोलकिपर एलेन न्यौपानेले बल नियन्त्रण गर्न सकेनन् । तर थ्रीस्टारका डिफेन्डरले बचाएपछि फ्रेन्ड्स क्लब बराबरी बनाउनबाट चुकेको थियो ।
खेलको ८३ औं मिनेटमा बुद्ध चेम्जोङले गोल गर्दै २-० थ्री स्टारलाई दोब्बर अग्रता दिलाएका थिए । त्यस्तै, अतिरिक्त समयमा फ्रेन्डस् क्लबका विकास लामाले गोल गर्दै फ्रेन्ड्स क्लबलाई खेलमा फर्किने संकते दिएपनि हारबाट जोगाउन भने सकेनन् ।


