![]()
बीबीसी । चीनले अन्तर्राष्ट्रिय प्रहरी निकाय इन्टर्पोलका प्रमुख मेङ होङ्वेई आफ्नो नियन्त्रणमा रहेको पुष्टि गरेको छ। प्रस्ट नपारिएको कानूनको उल्लङ्घनबारे भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकायले उनीमाथि अनुसन्धान गरिरहेको बेइजिङले जनाएको छ।
चीनको सार्वजनिक सुरक्षासम्बन्धी उपमन्त्री रहिसकेका मेङ फ्रान्सस्थित इन्टर्पोलको मुख्यालयबाट सेप्टेम्बर २५ मा चीन गएपछि बेपत्ता भएका थिए। तत्काल लागु हुने गरी अध्यक्ष पदबाट मेङको राजीनामापत्र आइतवार प्राप्त भएको इन्टर्पोलले जनाएको छ।
सार्वजनिक पद धारण गरेका मानिसहरूले गर्ने भ्रष्टाचारबारे अनुसन्धान गर्ने राष्ट्रिय सुपरिवेक्षण आयोगले मेङमाथि अनुसन्धान भइरहेको आफ्नो वेबसाइटमा राखेको एउटा विज्ञप्तिमा उल्लेख गरेको छ। चीनमा बेपत्ता हुनेमा मेङ पछिल्लो चर्चित व्यक्ति हुन्। पछिल्ला महिनाहरूमा उच्च सरकारी अधिकारीहरू, अर्बपति र लोकप्रिय व्यक्तित्वहरू बेपत्ता भएका छन्।
गत जुलाइदेखि बेपत्ता भएकी चिनियाँ अभिनेत्री फान बिङबिङले गत हप्तामात्रै एउटा सार्वजनिक क्षमायाचना गरेकी थिइन्। फानलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ।


