Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । अमेरिकी सर्वोच्च अदालतको न्यायाधीश पदमा राष्ट्रपति डोनल्ड ट्रम्पले मनोनयन गरेका ब्रेट क्याभानो नियुक्त हुने लगभग पक्का भएको छ। यौन दुर्व्यवहारसम्बन्धी आरोपबारे संघीय अनुसन्धान निकायले अनुसन्धान गरिरहँदा दुईजना सिनेटरले समर्थन गर्ने भएपछि क्याभानोको नियुक्ति निश्चित भएको हो।

शुक्रवार रिपब्लिकन सिनेटर सुसान कोलिन्स र जो मान्चिनले क्याभानोको मनोनयनप्रति समर्थन जनाउने सङ्केत दिएका हुन्। क्याभानोको नियुक्तिले अमेरिकी सर्वोच्च अदालतलाई अनुदारवादीहरूको पक्षमा झुकावतर्फ डोर्‍याउनेछ। अमेरिकी सर्वोच्च अदालतले गर्भपतन र बन्दुक नियन्त्रण जस्ता महत्त्वपूर्ण विषयमा अन्तिम फैसला सुनाउनुपर्नेछ।

क्याभानोको नियुक्तिबारे मतदानमार्फत अन्तिम निर्णय शनिवार हुँदैछ। अनुमोदित भएमा उनी सर्वोच्च अदालतको आजीवन न्यायाधीश हुनेछन्। दुईजना सिनेटरले क्याभानोलाई समर्थन गर्ने सङ्केत दिनुभन्दा केही घण्टाअघि सिनेटले बहसलाई सीमित पार्दै मतदान गर्ने निर्णय गरेको थियो।

विवादमा मुछिएका क्याभानोका लागि बहस टुङ्ग्याउने शुक्रवारको ५१-४९ को मतदान एउटा परीक्षा थियो। उनीमाथि प्राध्यापक क्रिस्टिन ब्लाजे फोर्डसहित तीनजना महिलाले यौन दुर्व्यवहारको आरोप लगाएका छन्। सिनेटर कोलिन्सले ‘आरोपहरूले क्याभानोलाई सेवा गर्नबाट साँच्चै रोक्नेमा आफूलाई विश्वास नभएको’ बताइन्। त्यस्तै सिनेटर मान्चिनले न्यायाधीश क्याभानोलाई आफूले ‘योग्य पाएको र उनले संविधानको पालना गर्दै कानूनी प्रमाणहरूलाई आधार मानेर मुद्दाको छिनोफानो गर्नेमा आफू विश्वस्त रहेको’ बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed