![]()
बीबीसी । अमेरिकाको उत्तरी भर्जिनियामा दुर्लभ सर्प भेटिएको छ । भर्जिनियाका एक व्यक्तिले दुईवटा टाउको भएको विषालु सर्प कपरहेडको बच्चा देखेपछि भर्जिनिया हर्पेटोलोजिकल सोसाइटीमा सम्पर्क गरेको सिएनएनले जनाएको छ । त्यसपछि राज्यको हर्पेटोलोजिस्टले अनुसन्धान सुरु गरे ।
दुईवटा टाउको भएका सर्प लामो समय जीवित रहन नसक्ने अनुसन्धानकर्ता जेडी क्लेप्फरले बताए । तर स्थानीयले भेट्टाएको सर्प कसरी जीवित रह्यो भन्ने बारे अनुसन्धान गरिएको उनले बताएका हुन् । दुई टाउकोसहित जिउन हरेक दिन धेरै अवरोधहरुको सामना गर्नु पर्ने क्लेप्फरले बताएका छन् ।
दुईवटा टाउकोसहितको सर्पको बच्चालाई उसका दुई टाउकाले एउटा शरीरसँग कसरी तालमेल मिलाइरहेका छन् भन्ने बारे जान्नका लागि एक्स रे गरिएको थियो । बिहीबार गरिएको एक्स रेबाट सर्पको बायाँ टाउको बढी सक्रिय रहेको र त्यसको प्रभाव उसको शरीरमा बेसी रहेको देखिएको भर्जिनियाको वन्यजन्तु केन्द्रले जनाएको छ ।
दुवै टाउकोले एउटा मुटु र फोक्सोसँग सहकार्य गरेका छन् । सर्पले दायाँ टाउकोमा रहेको मुखबाट खाँदा राम्रो हुने देखिए पनि बायाँ टाउको बढी विकसित रहेकाले समस्या आउन सक्ने पनि अनुसन्धानकर्ताले बताएका छन् । अहिले दुईवटा टाउको भएको सर्पको विशेषज्ञले स्याहार गरिरहेका छन् । यो सर्प बाँचेमा शैक्षिक प्रयोजनका लागि चिडियाखानालाई दिने तयारी छ ।


