![]()
एजेन्सी । इंग्ल्याण्डका ब्याट्सम्यान एलिस्टर कुकले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् । टेस्ट क्रिकेटमा सर्वाधिक रन बनाउने इंग्ल्याण्डका कुकले यो हप्ता हुने भारतसँगको पाँचौँ टेस्टपछि अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिने बताएका हुन् ।
३३ वर्षका ओपनर ब्याट्सम्यान कुकले इंग्ल्याण्डका लागि १६० टेस्टमा ३२ शतकसहित १२ हजार २५४ रन बनाएका छन् । यी सबै कीर्तिमान हुन् । सन्यासको घोषणा गर्दै उनले भनेका छन्, ‘अब केही बाँकी छैन ।’ उनले कीर्तिमानी ५९ टेस्टमा इंग्ल्याण्डको कप्तानी गरेका छन् ।
भारतसँगको पाँचौँ टेस्ट आउँदो शुक्रबारदेखि ओभलमा सुरु हुनेछ । यो शृङ्खलामा इंग्ल्याण्डले ३–१ ले नतिजा आफ्नो पक्षमा पारिसकेको छ ।
कुक सर्वकालीन सर्वाधिक रन बनाउने टेस्ट ब्याट्सम्यानको सूचिमा छैटौँ नम्बरमा छन् । तर ओपनरको रुपमा ११ हजार ६२७ रन बनाएका उनी शीर्ष स्थानमै छन् ।


