![]()
जनकपुर,माघ ।
राष्ट्रियसभा सदस्यका लागि मनोनयन दर्ता गराउन सर्लाहीका नेकपा माओवादी केन्द्रका नेता नरेन्द्र साह कलवार बञ्चित भएका छन् । नेता साहले पार्टीबाट टिकट पाए पनि समयमा उपस्थित नहुदा मनोनयन दर्ता गराउनबाट बञ्चित हुनुपर्यो । उनले बुधबार बिहान ९ बजे मात्र माओवादी केन्द्रबाट अल्पसंख्यकतर्फबाट राष्ट्रियसभा चुनावको लागि प्रदेश २ बाट टिकट पाएका थिए । बुधबार बिहान टिकट पाएर खुशी हुँदै सडक मार्ग हुँदै जीपबाट हतार हतार मनोनयन दर्ता गराउन जनकपुरस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालय पुग्दा मनोनयन दर्ताको समयावधि सकिएको थियो ।
दिउँसो ४ बजेसम्म मनोनयन दर्ताको समय थियो । तर उनी त्यो भन्दा १५ मिनट ढिलो मात्र निर्वाचन कार्यालयमा पुग्दा मुख्य निर्वाचन अधिकृत राधाकृष्ण मैनालीले उम्मेदवारी दर्ता गर्न मानेनन् । नेता साहको मनोनयन दर्ताका लागि पार्टी प्रतिनिधि तथा प्रस्तावक प्रदेशसभा सदस्य भरत साह र समर्थक शारदा लामा फारम भरेर तयारी अवस्थामा बसेका थिए । साह १५ मिनेट ढिलो आएर कार्यालय भित्र छिर्न खोज्दा विपक्षीले हो–हल्ला गरेपछि केहीबेर धकेलाधकेल समेत भयो । अन्तत साह राष्ट्रियसभा उम्मेदवार बन्नबाट बञ्चित नै भए ।
टिकट पाएर उत्साहित हुँदै हतार हतार मनोनयन दर्ता गराउन जनकपुर आउँदा पनि उम्मदवारी दर्ता नभएपछि नेता साह निकै दुःखी भए । उनले आफ्नो जीवनकै सबैभन्दा ठूलो दुर्भाग्य भएको भन्दै दुखेसो पोखे ।
नेता साहको मनोनयन दर्ताका लागि निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवलाई समेत गुहार लगाइएको थियो ।
आयुक्त यादवले पनि पनि मुख्य निर्वाचन अधिकृत राधाकृष्ण उप्रेतीलाई फोन गरेर १० र १५ मिनेट ठूलो कुरा नभएकाले उम्मेदवारी दर्ता गरिदिन आग्रह गरेको तर उप्रेतीले नमानेको माओवादी नेता रामचन्द्र मण्डलको दाबी छ । अल्पसंख्यक कोटामा एक मात्र उम्मेदवारी परेका राजपाका तर्फबाट वृजेशचन्द्र लाललाई निर्विरोध निर्वाचित गराउन षड्यन्त्र गरेको नेता मण्डलको आरोप छ ।


