![]()
काठमाडौ,माघ ।
हाल फरार रहेका ललितपुर १ बाट निर्वाचित सांसद तथा नेपाल प्रहरीका पूर्वडीआइजी नवराज सिलवालले सिलवालले प्रेस विज्ञप्ति जारी गरी कामचलाउ सरकारको इशारामा वर्तमान प्रहरी नेतृत्वले आफ्नो जिउज्यानमाथि पटक–पटक धावा बोल्न खोजेको आरोप लगाएका छन् ।
सिलवालले आइजीपी नियुक्ति प्रकरणमा अदालतमा पेश भएका कागजातहरुको सन्दर्भमा अहिलेको सरकार तथा प्रहरी नेतृत्वबाट निष्पक्ष छानविन हुन नसक्ने जिकिरसमेत गरेका छन् । उनले अहिलेको प्रहरी नेतृत्व र सरकारसँगै आफूले लडेका कारण उनीहरुबाट निष्पक्ष छानविन नहुने बताएका हुन् ।
सिलवालले विज्ञप्तिमा भनेका छन्ः‘जुन मान्छे यो सम्पूर्ण घटनाक्रममा मेरो विपक्षी रहेको छ, उसैले अनुसन्धान गर्ने र यसमा संलग्नहरुलाई निर्दोष सावित गरी मलाई प्रहार गर्ने जुन खेल भैरहेको छ, त्यसको अन्त्य हुनुपर्दछ र निश्पक्ष निकायवाट भोलि हुने अनुसन्धानलाई एउटा निस्कर्षमा पुर्याउन सबै प्रकारले सहयोग गर्न म तयार छु ।’
उनले यो वीचमा आइजीपी नियुक्ति प्रकरणका महत्वपूर्ण सरकारी कागजातहरु फेरबदल भएको भन्दै त्यसका दोषीहरुमाथि छानविन र कारवाही हुनुपर्ने बताएका छन् । किर्ते गर्ने कार्यमा संलग्न व्यक्तिहरुलाई शेरबहादुर देउवा सरकारले पुरस्कृत गरिरहेको आरोप समेत उनले लगाएका छन् ।
सिलवालको विज्ञप्तिमा भनिएको छः‘नेपाल प्रहरीको कर्मचारी प्रशासनसम्वद्ध गोप्य दस्तावेजहरुमा मेरो पहुँच पुग्ने र त्यसलाई मैले सच्च्याउने सम्भावना एउटा काल्पनिक कथ्य मात्र हो । त्यसमाथि, यसअघिको प्रहरी नेतृत्व शुरुदेखि नै मलाई प्रहरी महानिरीक्षक हुन नदिने प्रपञ्चका साथ योजनावद्ध ढंगले क्रियाशील रहेको यथार्थ अब आम जानकारीको विषय भइसकेको छ । यस्तो अवस्थामा, प्रहरी मुख्यालयमा सुरक्षित, सोही अवधिको गोप्य फाइलमा मैले किर्ते गर्नसक्ने कुरा कसरी सम्भव होला ?’
पूर्वडीआइजी सिलवालले आफू जुनसुकै बेला अनुसन्धानमा सघाउन तयार भए पनि अहिलेको सरकारबाट आफू असुरक्षित भएकाले नयाँ सरकार आउनासाथ अनुसन्धान प्रक्रियामा सहभागी हुने बताएका छन् ।


