![]()
काठमाडौं । नेकपा एमालेले राष्ट्रियसभाको निर्वाचन तोकेको समयमा नगराउन सरकार र निर्वाचन आयोगबीच साँठगाँठ भएको हुनसक्ने शंका गरेको छ ।
पार्टी कार्यालय धुम्बाराहीमा बुधवार बसेको स्थायी कमिटी बैठकले माघ २४ गते तोकिएको राष्ट्रियसभा निर्वाचन सार्न चलखेल हुन सक्ने भन्दै निर्धारित मितिमै चुनाव गर्न सरकार र आयोगको ध्यानाकर्षण गराएको छ ।
कार्यवाहक अध्यक्ष बामदेव गौतमको अध्यक्षतामा बसेको बैठकले निर्वाचन गराउन भईरहेको ढिलाईप्रति गम्भीर चिन्ता व्यक्त गर्दै त्यसअघि प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न सरकारको ध्यानकर्षण गराएको छ ।
बैठकपछि एमाले सचिव योगेश भटट्राइले प्रदेश प्रमुख र अस्थायी केन्द्र तोक्न भईरहेको ढिलाईले राष्ट्रिय सभा निर्वाचन प्रभावित हुन खोजेकाले अन्यौल बढेको प्रतिक्रिया दिनुभयो । बैठकले कामचलाउ भइसकेको सरकारले गरिरहेको सरुवा, बढुवा, रकमान्तर लगायतका बिषयप्रति आपत्ती समेत जनाएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय सभा निर्वाचनका लागि माघ ५ भित्र उम्मेदवार चयन गर्दा विशेष महिला, जनजाती, समाबेशीतालाई ध्यान दिन मातहतका कमिटिलाई निर्देशन दिएको छ ।


