![]()
काठमाडौं । राखेप च्याम्पियनसिप २०७४ अन्तर्गत अखिल नेपाल फुटबल संघ एन्फाले २३औँ राष्ट्रिय पुरुष फुटबल प्रतियोगिता आगामी माघ २ देखि ६ गतेसम्म सञ्चालन गर्ने भएको छ ।
पाँच दिन चल्ने प्रतियोगिताका खेलहरु अरनीको खेल मैदान तुलसीपुर दाङ र भरतपुर खेल मैदान घोराही दाङमा हुने एन्फाले जनाएको छ । प्रतियोगितामा तीन विभागीय र पाँच विकास क्षेत्र गरी कूल ८ टोलीको सहभागिता रहेको छ ।
सिधै नकआउटका आधारमा हुने प्रतियोगितामा पहिलो खेल जित्ने टिम सेमिफाइनल पुग्नेछ भने पराजित हुने टिम बाहिरिने छन् । यसरी हेर्दा ८ टोली सहभागि प्रतियोगितामा फाइनल समेत गरी जम्मा ७ खेल हुनेछ । पहिलो चरणका खेल जित्ने ४ टिम सेमिफाइनलम प्रवेश गर्नेछन् ।
उद्घाटन खेल माघ २ गते मध्यपश्चिम क्षेत्रिय टिम र सशस्त्र प्रहरी बलको एपीएफ बीच हुनेछ । २ गते नै मध्यमाञ्चल र सुदूरपश्चिम क्षेत्रिय टिमबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताका लागि प्रत्येक टिमले १८ खेलाडी दर्ता गर्न सकिने एन्फाले जनाएको छ ।


