![]()
बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले रिपब्लिकन र डोमोक्र्याटहरुबीच हाल वार्ता भइरहेको आप्रवासन सम्बन्धी कानुनमा मेक्सिकोसँगको सीमामा पर्खाल लगाउनुपर्ने विषय पनि सम्बोधन गरिनुपर्ने बताएका छन् ।
ह्वाइट हाउसकी प्रवक्ताले सीमा सुरक्षामा कदम चाल्नु महत्वपूर्ण भएको भन्दै पर्खालको तत्कालै सम्भावना नरहेको संकेत गरेपनि त्यसको २४ घण्टा नबित्दै राष्ट्रपति ट्रम्पले यो कुरा उजागर गरेका हुन । गैरकानूनी रुपमा अमेरिका प्रवेश गरेका आप्रवासीलाई नियमन गर्न यो बिषय कानुनमा नै समेटिनुपर्ने उनले बताए ।
यसअघि ’सपना देख्नेहरू’ भनिने त्यस्ता अप्रवासीलाई संरक्षण दिने एउटा कार्यक्रम बन्द गर्न आफूले राखेको प्रस्ताव अदालतले रोकिदिएपछि ट्रम्पले अमेरिकी न्याय प्रणाली कमजोर र अनुचित भएको बताएका थिए।
‘डाका’ नामक उक्त कार्यक्रमले अमेरिकामा गैरकानुनी रूपमा ल्याइएका बच्चालाई अस्थायी आवास उपलब्ध गराउँछ ।
राष्ट्रपति ट्रम्पले राष्ट्रपतीय चुनावी अभियानका बेला उक्त कार्यक्रमलाई तत्काल बन्द गर्न चाहेको बताएका थिए । डाका कार्यक्रमबाट करिब ७ लाख ५० हजार मानिसलाई संरक्षण गरेको बताइन्छ जसमा बहुसंख्यक मेक्सिको र अरू ल्याटिन अमेरिकी मुलुकका नागरिक छन् ।


