![]()
भक्तपृुर । बामगठवन्धनका शीर्ष दुई नेता केपी ओली र पुष्पकमल दाहालको निर्देशनपछि राष्ट्रियसभा निर्वाचन, प्रदेशसभा गठन र प्रदेश सरकार निर्माणका लागि गठित कार्यदलले बिहीबारबाट काम सुरु गर्ने भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको दुई पार्टीको बैठकमा नेता ओली र दाहालले कार्यदलले गर्ने कामबारे निर्देशन दिएका थिए ।
कार्यदल सदस्य तथा माओवादी केन्द्रका नेता वर्षमान पुनले कार्यदलले चारवटा मापदण्डका आधारमा काम शुरु गर्ने सहमति भएको जानकारी दिए । राष्ट्रियसभा र प्रदेशसभाका विभिन्न पदाधिकारीको व्यवस्थाबारे प्रारम्भिक छलफल भएको उनले बताए ।
कार्यदलले गृहकार्य गरेर राष्ट्रियसभाको निर्वाचनमा साझा उम्मेदवार, प्रदेश सरकारको गठन, प्रदेशको मुख्यमन्त्री, सभामुखलगायतका विषयमा साझा धारणा बनाएर पार्टी एकता संयोजन समितिमा प्रतिवेदन पेश गर्ने भएको छ ।
प्रदेशसभा र स्थानीय तहमा दुवै दलले प्राप्त गरेको सिट सङ्ख्या र मतभारलाई आधार बनाएर, विभिन्न व्यक्तिले भोलीका दिनमा खेल्न सक्ने भूमिकालाई ख्याल गरी प्रभावकारी ढंगले सरकार र संसद्मा नेतृत्व गर्न सक्नेलाई तथा एकताको गतिमा, दुवै पक्षको सन्तुलनलाई ख्याल राखेर सिट विभाजन गरेर काम गर्न कार्यदलले म्याण्डेड पाएको छ ।


