![]()
जाजरकोट,पुस ।
जाजरकोट जिल्लाको सदरमुकामबाट करिब २३ कोस टाढा रहेको गाउँ जुनीचाँदेमा भाइरल ज्वरो आउँदा धामी झाँक्रीको भर परेर झारफुकबाट निको पार्ने कोसिसमा नौ जनाको ज्यान गएको छ । गएको एक सातादेखि फैलिएको रुघाखोकी र ज्वरोले थलिएका गाउँलेलाई उपचारका निमित्त स्वास्थ्य संस्थातिर नलगेर झारफुकको भरपरेको हुनाले यो समस्या विकराल बनेको हो । जुनीचाँदेका साथै छेडागाडका सुवानाउली र टीकाचौरमा पनि रुघाखोकीका बिरामी बढेका छन् ।
बिरामीमा घाँटी, टाउको र हातखुट्टा दुख्ने, सुक्खा खोकी, चिटचिट पसिना आउने, ज्वरो आउनेलगायत समस्या देखिने गरेको छ । चिसोका कारण अहिले धेरै स्थानमा बिरामीको संख्या बढेको देखिएको र अहिले देखिएको समस्या एचवान एनवान भाइरसको कारणले हो भने फैलिनसक्ने जोखिम भएको पनि जिल्ला स्वास्थ्य प्रमुखले जनाएका छन् । नौ जनाको मृत्यु भएको र दुई सय जनाभन्दा बढी बिरामी भएका छन् । मृत्यु हुनेमा बाल बालिका र वृद्ध छन् । सरकारले यस बिरामीलाई भाइरल इन्फ्लुएन्जाको शंका गरेको र यसको कारण एचवान एनवान भाइरस हुनसक्ने संभावना देखेको छ ।


