![]()
काठमाडौ,पुस ।
एमाले–माओवादी केन्द्र पार्टी एकताका लागि अघि बढिरहँदा यसलाई हुन नदिन पनि उत्तिकै बढेको छ । कांग्रेस–राजपालगायत लोकतान्त्रिक गठबन्धन आबद्ध दलहरु एमाले–माओवादी एकता टुटाइछाड्ने रणनीतिमा लागेका श्रोतले जनाएको छ ।
कांग्रेस–राजपालगायत दलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई वाम गठबन्धनबाट अलग गराउन फकाउन थालेका छन् । एमाले–माओवादीबीच पार्टी एकता हुन नदिने उद्देश्यका साथ उनीहरुले दाहाललाई फकाउने रणनीति अख्तियार गरेका हुन् । निर्वाचन परिणामपछि खुम्चिएको कांग्रेसले एमाले–माओवादी गठबन्धन तोड्न राजनीतिक अभियान नै चलाएको छ ।
दाहाललाई फकाउन उसले प्रलोभन देखाउनेदेखि घुमाउरो शैलीमा सत्य निरूपण तथा मेलमिलाप आयोग (टीआरसी) को मुद्दा देखाएर खबरदारीसमेत गर्न थालेका स्रोतको दावी छ ।
प्रचण्डलाई कांग्रेसले आगामी पाँच वर्षका लागि प्रधानमन्त्री बन्न अफर मात्रै गरेको छैन, द्वन्द्वकालको मुद्दा कांग्रेस–माओवादीले मात्रै टीआरसीमार्फत टुंगो लगाउन सक्नेसम्मको प्रस्ताव पठाएको छ । प्रचण्डले वाम गठबन्धनमै रुचि देखाएमा टीआरसीको मुद्दामा माओवादी नेताहरू अन्तर्राष्ट्रिय अदालतमा तानिने घुमाउरो भाषामा कांग्रेस नेताहरूले प्रेसर दिएको स्रोतले बतायो ।
वामगठबन्धनका एक नेताले भनेः‘प्रचण्ड के गर्दा फकिन्छन्, त्यही अस्त्रको प्रयोग अहिले कांग्रेस नेतृत्वको लोकतान्त्रिक गठबन्धनले गर्न खोजेको छ, तर जतिसुकै कोसिस गरे पनि त्यस्तो योजना सफल हुने सम्भावना भने कमै रहेको छ ।’


