Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

२०७६ माघ ०६, झापा । पुस माघको कठ्याङ्ग्रिदो जाडो । त्यसमाथि बाक्लो हुस्से, उस्तै चलेको छ सिरेटो । शीतलहरका कारण लपक्कै भिजेको छ सबैतिर । यस्तो अवस्थामा घरभित्र सुरक्षित वस्तु, न्यानो कपडा लगाउन, आगो ताप्न, तातो खानेकुरा खान कसलाई मन हँदैन र ? तर लुगलुग काम्दै बिहान झिसमिसेदेखि नै सडकपेटीमा दाम्लो बाट्न निस्कनु पर्ने बाध्यता छ ८५ वर्षीय वृद्ध लक्ष्मीप्रसाद दाहाललाई । कनकाई नगरपालिकाको दुर्गापुरमा डेरा गरी बस्तै आएका उदयपुर निवासी दाहालको विगत ३० वर्षदेखिको दैनिकी यस्तै छ । दाम्लो बाटेर बिक्री नगरे हात मुख जोड्न समस्या हुने भएपछि पुस माघको ठिहि¥याउँदो जाडो होस् या असार साउनको भेलबाढी नै किन नहोस, दुई छाक टार्न दाहाललाई दाम्लाकै सहारा लिनुपरेको छ ।

तीस वर्षअघि धन कमाउन उदयपुरबाट झापा आएका दाहालले धन कमाउन त परै जाओस् गुजारा टार्न समेत हम्मेहम्मे परेपछि हातमा भएको सीप प्रयोग गर्दै दाम्ला बाट्न शुरु गरे । शुरुमा भोर्ला, ओदाल (जङ्गलमा पाइने एक प्रकारको वनस्पति) का दाम्ला बाटेर बिक्री गरी जीवन निर्वाह गर्दै आएका दाहाललाई सशस्त्र द्वन्द्वका समयमा नेपाली सेनाले तत्कालीन विद्रोही माओवादी भन्दै जङ्गलमै पक्राउ गरेको थियो । ओदाल र भोर्लाको लोक्ता लिन जङ्गल पुगेका दाहाललाई नेपाली सेनाले पक्राउ गर्दै केरकार गरेपछि दाहालले आफ्नो वृतान्त सुनाए ।

नेपाली सेनाले त्यो दिन दाहाललाई आइन्दा जङ्गल नआउने सर्तमा छाडेपछि उनले प्लास्टिकका बोरा र कपडाका दाम्ला बाट्न शुरु गरे । अहिले पनि दाहाल कपडा र बोराकै दाम्ला बाट्छन् । उनले दाम्ला बाटेरै श्रीमती एक छोरा र एक छोरीसहित चार जनाको परिवार धान्दै आएका छन् । ‘बर्मा गए कर्मसँगै,नेपाल गए कपालसँगै’ भन्ने उखान झैँ ८५ वर्षको उमेरमा पनि उनले जाडो गर्मी केही नभनी जीवन जिउनकै लागि दाम्ला बाटेर बिक्री गरेका छन् । ‘दाम्ला बाटेर दैनिक ३०० रुपैयाँसम्म कमाउँछु’, दाहालले भने, ‘दाम्ला बेचेकै पैसाले घर खर्च चलेको छ ।’ एउटा दाम्लो ५० रुपैयाँसम्ममा बिक्री हुने गरेको उनले बताए । दाहालले भने, ‘दिनमा आठ÷दश वटा दाम्ला बिक्छन् । सानो दाम्लो ३० रुपैयाँमा विक्री गर्छु, ठूलो चाहिँ पचास रुपैयाँमा ।’

दाहालले पटपटी फुटेका हात देखाउँदै भने, ‘दाम्ला बाट्ता बाट्ता हात पनि चिराचिरा परेका छन् । कहिलेकाहीँ त हातले खाना खान पनि सक्दिनँ, चह¥र्याउँछ । त्यस्तो बेला चम्चाले भात खान्छु ।’ उच्च रक्तचापको समस्याका कारण दाहालले दैनिक औषधि सेवन गर्नुपर्छ । बाटेको दाम्ला नबिके कहिलेकाहीँ औषधि किन्नसमेत पैसा हुँदैन । उनकी श्रीमती पनि शारीरिकरूपमा अशक्त रहेका छन् । ‘भाडामा बस्छौँ, समयमा भाडा तिर्न त परै जाओस् औषधि खानसमेत पैसा समेत नहुँदा जीवनदेखि नै निराश लागेर आउँछ ।’

केही वर्षअघिसम्म पशुपालक कृषकले मनग्य दाम्ला किन्ने गर्थे । अहिले प्लास्टिकका बाटेका दाम्ला बजारमा पाइन थालेपछि दाम्लाको व्यापार घटेको दाहाल बताउँछन् । ‘नगरी खान पुग्दैन, अब त गर्न पनि सक्न छाडेँ, शरीरमा रोग लाग्यो, बूढो शरीर कतिञ्जेल गर्ने, नगरे पनि के खाने रहर हैन बाबु सडकमा बसेर दाम्ला बाट्नु मेरो बाध्यता हो’ गहभरि आँशु पर्दै दाहालले भने, ‘सकुन्जेल यही काम गर्छु ।’ बल छँदा साना ठूला १०–१२ वटा दाम्ला बाट्ने गरेको तर अहिले दाम्ला बाट्न पनि सक्न छाडेको उनको भनाइ थियो । विगत सम्झँदै उनले भने, पहिला १० रुपैयाँमा बिक्ने दाम्ला अहिले ५० मा बिक्छ तर पनि पुग्दैन, महँगी बढ्यो दाम्ला पनि बिक्न छाड्यो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed