![]()
सुर्खेत : कर्णालीका जुम्ला, मगु, डोल्पा र हुम्लामा मंगलबार दिनभरि नै हिउँ परेको छ। केही ठाउँमा जिल्लामा पानी परेको छ। सुर्खेत, दैलेख र जाजरकोटका केही स्थानमा भने असिनापानीसमेत परेको छ। चिसो बढेपछि मंगलबार व्यापार व्यवसायदेखि सरकारी कामसमेत प्रभावित भएका छन्।
माथिल्लो डोल्पा र हुम्लाका अधिकांश भागमा रातिदेखि नै हिउँ पर्न सुरु भएको थियो। माथिल्लो डोल्पामा करिब दुई फिटसम्म हिउँ जमिसकेको शे–फोक्सुण्डो गााउँपालिका साल्दाङका कार्माछिरिङ लामाले जानकारी दिए। पुसमा परेको हिउँ नबिलाउँदै यसपटक दुई फिट बढी हिउँ परेपछि गोरेटो बाटो भएका क्षेत्रमा कठिनाइ उत्पन्न भएको छ। कर्णालीमा यस वर्ष चारपटकसम्म हिउँ परिसकेको छ। सरकारी कार्यालयका प्रतिनिधिहरूले दिनभर कार्यालयमा आगो तापेर बिताएका थिए। हिमपातपछि डोल्पाको तापक्रम माइनस ८ डिग्री सेल्सियसमा झरेको बताइएको छ।
हिउँवर्षाले ग्रामीण भेगमा बढी प्रभाव पारेको छ। निरन्तर हिउँ पर्न थालेपछि वस्तुभाउलाई दानापानी दिन कठिन भएको छ। मंसिर र पुसमा परेको हिउँले जमिन साह्रो हुने भए पनि माघको हिउँले बाँधिएको जमिनलाई खुकुलो बनाउने र नयाँ पालुवा पलाउने भएकाले किसानका लागि लाभदायक मानिन्छ।
पाखो जमिनमा बाली र फलफुलका बिरुवा लगाएका किसानले भने यसपटकको हिउँका कारण पानी चहार्न सहज भएको बताएका छन्। उनीहरूले हिउँपोखरीमा हिउँ जम्मा गरेका छन्।
यस्तै मुगु र हुम्लामा पनि मंगलबार बिहान पाँच बजेबाट भारी हिमपात भएको छ। सदरमुकामबाहे अन्य क्षेत्रमा हिमपातले जनजीवन कष्टकर पारेको छ। पहिले पानी परेर पछि हिउँ जम्न थालेपछि यसवर्षकै अत्यधिक हिउँ परेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ।हिउँमा पानीको मात्रा धेरै भएका कारण बुधबारसम्म हिउँ पर्न नरोकिए केही क्षेत्रमा पहिरो जानसक्ने खतरा पनि रहेको भन्दै स्थानीय प्रशासनले सचेत गराएको छ। सदरमुकाम र तल्लो क्षेत्रमा आधा फिटसम्म परे पनि लेकतिर भने तीन फिटसम्म परेको स्थानीयले बताएका छन्।


