Breaking News.... EverestOnlineKhabar
April 30, 2026

शारीरिक सुगठन खेलको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’ छनोट प्रतियोगिताको दौरान रोली विंकलार नेपाल आउने भएका छन्।

Loading

काठमाडौं : शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका खेलाडी रोली विंकलार नेपाल आउने भएका छन्। शारीरिक सुगठन खेलको विश्वकप मानिने ‘मिस्टर ओलम्पिया’को छनोट प्रतियोगितास्वरूप नेपालमा पहिलोपटक हुन लागेको आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपमा ‘गेस्ट पोजर’का रूपमा विंकलार नेपाल आउन लागेका हुन्।

प्रतियोगिताको दौरान उनले शारीरिक सुगठनसम्बन्धी केही महत्त्वपूर्ण ‘पोज’ प्रस्तुत गर्नेछन्। आईएफबीबी प्रोफेसनल लिग नेपाल बडिबिल्डिङ च्याम्पियनसिपको मुख्य आयोजक आईएफबीबी लिग नेपालका अध्यक्ष सानु गुरुङले विंकलारको उपस्थितिले प्रतियोगिताको शोभा बढ्नुका साथै सहभागी खेलाडीको हौसलासमेत बढ्ने विश्वास व्यक्त गरे।

‘विंकलार प्रतियोगिताको दौरान नेपाल आउने खबर तपाईंहरूलाई सुनाउन पाउँदा निकै खुसी लागेको छ’, बुधबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष गुरुङले भने, ‘आयोजकका रूपमा हामी उत्साहित छौं। विंकलारजस्ता ख्यातिप्राप्त खेलाडीलाई नेपाल ल्याउन सक्नु नै हाम्रा लागि ठूलो कुरा हो। उनको उपस्थितिले प्रतियोगिताको साख मात्रै उँचो हुनेछैन, सहभागी खेलाडीले पनि केही सिक्ने र खेलप्रति लागिरहने हौसला प्राप्त गर्ने विश्वास लिएको छु।’

नेदरल्यान्ड्सका नागरिक विंकलार शारीरिक सुगठन खेलमा सबैभन्दा ठूलो शरीर भएका खेलाडी मानिन्छन्। एक सय ३० केजी तौल भएका विंकलार अन्तर्राष्ट्रिय शारीरिक सुगठन खेलमा ‘द बिस्ट’ (दानव) तथा सामुराई जस्ता उपनामले परिचित छन्। अध्यक्ष गुरुङका अनुसार उनी फेब्रुअरी १४ मा नेपाल आउनेछन्। त्यसपछि प्रतियोगितामा गेस्ट पोजरका रूपमा सहभागी भएपछि उनी फेब्रुअरी १७ मा स्वदेश फर्कनेछन्।

अध्यक्ष गुरुङले प्रतियोगिताका लागि अमेरिका, बेलायत, फ्रान्स, इटाली, चीन, जापान, रुस, भारतलगायत देशबाट धेरैभन्दा धेरै खेलाडीले प्रतियोगितामा सहभागी हुन आवेदन भरेको जानकारी दिए। नेपालमा हुने छनोट प्रतियोगितामार्फत चार विधामा उत्कृष्ट हुँदै ‘प्रो कार्ड’ जित्ने चार खेलाडीले आगामी सेप्टेम्बरमा अमेरिकाको लस भेगासमा आयोजना हुने मिस्टर ओलम्पियामा सहभागिताको अवसर पाउनेछन्।

मिस्टर ओलम्पियाका लागि नेपालमा हुने छनोट प्रतियोगितामार्फत मेन्स फिजिक, मेन्स क्लासिक फिजिक, मेन्स बिडिबिल्डिङ र महिलातर्फको उमन फिजिकमा गरी चार स्पर्धाका उत्कृष्ट एक÷एक खेलाडीले प्रो कार्ड जित्नेछन् र मिस्टर ओलम्पियाका लागि छनोट हुनेछन्। यो प्रतियोगिता नेपालमा आयोजना हुन लागेको शारीरिक सुगठन खेलको अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed