Breaking News.... EverestOnlineKhabar
April 30, 2026

न्यायाधीश जोशी अन्योलमा, राणाले पूर्वाग्रह राखेको निष्कर्ष

Loading

। प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले बुधबारदेखि  मुद्धाको पेशी तोक्न छोडेपछि  वरिष्ठ न्यायाधीश दीपकराज जोशी आजबाट अदालत जाने कि नजाने भन्ने अन्योलमा देखिएका छन् । उनले यसबारेमा सार्वजनिक टिप्पणी गर्न नचाहेपनि प्रधानन्यायाधीश राणाले आफूप्रति पूर्वाग्रह राखेको निष्कर्षमा उनी पुगेका छन् । उनको पारिवारिक स्रोतले भन्यो, ‘‘पेशी नै नतोक्ने काम प्रधानन्यायाधीशले गर्न नहुने हो । पहिला सुनुवाई समितिले लगाएको आरोप पुष्टि गर्न पनि नसकेको अवस्थामा अहिले अझै केही महिना कार्यकाल बाँकी रहँदारहँदै उहाँले पेशी नै तोक्दिन भन्न कसरी मिल्ला ?’’

उनी तत्काल हाजिर गर्नकै लागि पनि सर्वोच्च जाने मूडमा देखिएका छन् । पारिवारिक स्रोतले भन्यो,‘‘उहाँले गरेका फैसलामा हस्ताक्षर गर्न पनि बाँकी छ । त्यसैले उहाँ जानुहुन्छ ।’’  यद्यपि अब के गर्ने वा के नगर्ने भन्ने बारेमा उनी अझै अन्योलमा देखिएका छन् । राजीनामा दिने सम्भावनाका बारेमा राखिएको जिज्ञासामा परिवारका एक सदस्यले भने,‘‘अहिले नै त्यस्तो सोच बनाउनुभएको छैन । प्रधानन्यायाधीश राणाले त्यसो गर्न नमिल्ने हो भन्ने हामीलाई लागेको छ ।’’

नवनियुक्त प्रधानन्यायाधीश राणाले पदभार सम्हालेपछि बुधबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा अदालतलाई निकास दिन जोशीलाई आग्रह गरेका थिए ।  प्रधानन्यायाधीश राणाको आदेश अनुसार नै उनलाई बुधबार शपथ ग्रहण समारोह र सर्वोच्चमै आयोजित स्वागत समारोहमा पनि बोलाइएको थिएन ।

राणाले बुधबार सर्वोच्च अदालतमा सञ्चारकर्मीसँगको कुराकानीमा वरिष्ठ न्यायाधीशको हिसाबले अब जोशीले  अदालतलाई बन्धक बनाउनु नहुने र अदालतलाई अझै विवादमा पार्नु नहुने जनाएका थिए । उनले अब जोशीको पेशी नतोक्ने समेत सोही अवसरमा बताएका थिए । राणाले भनेका थिए, ‘‘आज उहाँलाई पेशी तोकिएको छैन र भविष्यमा पनि तोकिने छैन ।’’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed