Breaking News.... EverestOnlineKhabar
May 1, 2026

८१ वर्षीय कादर खानलाई सास फेर्न गाह्रो भइरहेको थियो

Loading

क्यानडाको एक अस्पतालमा निधन भएका कादर खानका छोरा सरफराज खानका अनुसार उनका पितालाई १६-१७ हप्तादेखि अस्पतालमा भर्ना गरिएको थियो। ३१ डिसेम्बरको साँझ उनको निधन भएको थियो।

उनले भने, ”उनको अन्तिम संस्कार क्यानडामैँ गरिनेछ। हाम्रो परिवार यहीँ छ र हामी यहीँ बस्दै आएकोले त्यसो गर्न लागेका हौँ। प्रार्थना र आशीर्वाद दिने सबैलाई धन्यवाद दिन्छौँ।”

८१ वर्षीय कादर खानलाई सास फेर्न गाह्रो भइरहेको थियो। त्यसैले डाक्टरहरूले उनलाई नियमित भेन्टिलेटरबाट विशेष भेन्टिलेटरमा राखेका थिए।

उनलाई के रोग लागेको थियो?

उनलाई शरीरको विभिन्न भागमा असर पुर्‍याउने ‘प्रोगेसिभ सुपरान्यूक्लियर पाल्सी’ पीएसपी भन्ने रोग लागेको थियो। ब्रिटेनको स्वास्थ्य सेवा निकाय न्याशनल हेल्थ सर्भिसका अनुसार पीएसपी एउटा दुर्लभ स्थिति हो जसको असरले शरीरको सन्तुलन बिग्रिन जान्छ र बिरामीलाई हिँडडुल गर्न, हेर्न, बोल्न र खानेकुरा निल्न अप्ठ्यारो हुन्छ।

समयसँगै मस्तिष्कका कोषमा क्षति पुग्नाका कारण त्यस्तो हुन जान्छ। ६० वर्षको उमेर नाघेका मानिसलाई यो रोगले सताउने गरेको छ।

  • पीएसपी रोग लाग्ने कारण के हुन्?
कादर ख़ान

तउ नामको प्रोटिन बढ्दै जानाले मानिसको मस्तिष्कको एक भागका कोषहरू बिग्रिन थालेपछि पीएसपी देखा पर्छ। तउ नामक प्रोटिन मस्तिष्कमा हुन्छन् र ती बढ्नु अगावै फुट्न थाल्दछन्।

पीएसपी रोग लागेका मानिसमा भने ती ठीक तरिकाले फुट्दैनन् र मस्तिष्कको कोषमा गुच्छा बन्न थाल्छन् र त्यसले जोखिम बढाउने गर्दछ। गुच्छाको आकार र संख्या फरक पर्ने हुनाले बिरामीहरूमा यो रोगका लक्षणहरू पनि फरक हुने गर्दछन्।

 लक्षण

पीएसपीको लक्षण समय अनुसार फेरिने र गम्भीर हुने गर्दछ। शुरुमा लक्षण अन्य बिरामीको जस्तै देखिन्छन्। त्यस्तो बेला पीएसपी पत्ता लगाउन कठिन हुने गर्दछ।

प्रमुख लक्षण यस्ता हुन्छन्:

  • सन्तुलित रहन र हिँडडुल गर्न कठिन हुनु
  • बारम्बार लडिने हो कि भनेर डर लागिरहनु
  • आनीबानीमा फेरबदल हुनु
  • मांशपेशिहरू कडा हुनु
  • आँखाको चलमल नियन्त्रण गर्न नसक्नु
  • बोल्न झर्को लाग्नु र चुपचाप रहनु
  • निल्न कठिन हुनु
  • सम्झना शक्ति क्षीण हुनु

कादर ख़ान

सबैभन्दा ठूलो समस्या यो हो: चिकित्सा विज्ञानले अहिलेसम्म पीएसपी पुष्टि गर्ने कुनै निश्चित परीक्षण विकास गरिसकेको छैन। लक्षणहरूको निरन्तर अनुगमन र विश्लेषण गरेर बिरामी पत्ता लगाउने गरिएको छ।

यो रोगका अधिकांश लक्षण पार्किन्सन्स रोगका लक्षणसँग मेल खाने हुँदा चिकित्सकहरूलाई पीएसपी पत्ता लगाउन कठिन हुने क्रम जारी छ। पीएसपी रोग पत्ता लगाउन मस्तिष्कको स्क्यान गराउन आवश्यक पर्छ। यो रोगका बिरामीलाई न्यूरोलोजिस्ट अर्थात् मस्तिष्क चिकित्साविद्लाई देखाउनु पर्छ।

  उपचार

संसारमा अहिलेसम्म पीएसपीको निश्चित उपचार विकसित भइसकेको छैन। तर नयाँ नयाँ उपचारको खोजी गर्नका लागि अनुसन्धानहरू जारी छन्। ती अनुसन्धानहरू लक्षण पत्ता लगाएर रोगलाई नियन्त्रण गर्ने उपाय पहिचान गर्न केन्द्रित छन्। बिरामी अनुसार उपचारका विधि पनि फरक पर्छन्।

केही प्रचलित उपचार यस्ता छन्:

  • सन्तुलन कायम राख्नको लागि औषधिहरू
  • हिँडडुल गर्न सहज बनाउनको लागि फिजियोथेरापी
  • बोल्न र निल्न सहज बनाउने अभ्यास
  • दैनिक काम सहज तुल्याउन अर्को थेरापी जसलाई अक्यूपेशनल थेरापी पनि भनिन्छ
  • हेर्न सहज तुल्याउन विशेष चस्मा
  • खाना खुवाउन सहज बनाउन फिडिङ्ग ट्युब भनिने खुवाउने पाइपको प्रयोग

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed