![]()
काठमाडौं । नेकपा स्थायी समिति बैठक सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को स्थायी समितिको बुधवारको बैठकमा पनि अध्यक्षद्धय केपी ओली र पुष्पकमल दाहालले पेश गरेको राजनीतिक प्रतिवेदनमाथि आलोचना भएको छ ।
पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको पार्टी स्थायी समितिको बैठकमा बुधवार बोल्ने सदस्यहरुले पनि नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै आफ्नो धारणा राखेको वरिष्ठ नेता झलनाथ खनालले जानकारी दिनुभयो ।
खनालले भन्नुभयो, ‘राजनीतिक प्रतिवेदनमाथिको आलोचना गर्ने क्रम जारी छ, राजनीतिक प्रतिवेदनलाई परिमार्जन गर्न पनि नेताहरुले नेतृत्वलाई सुझाव दिएका छन । ’
बुधवारको बैठकमा सुरेन्द्र पाण्डे, वर्षमान पुन, देव गुरुङलगायतका ८ जना नेताहरुले धारणा राखेका थिए । विचार, राजनीति, भावी कार्ययोजनालगायतका विषयमा केन्द्रीत भएर नेताहरुले धारणा राखेको खनालले बताउनुभयो । बैठक बिहीबार पनि बस्नेछ ।


