Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

एजेन्सी । यो जोरा हो। एक रोबोट। यो रोबोटको प्रयोग वृद्धवृद्धाहरुको स्याहार गर्न प्रयोग भइरहेको छ वैज्ञानिकहरुले यसलार्इ अनसुन्धानका रुपमा अघि बढाएका हुन्।

जब जोरा फ्रान्सको पेरिसभन्दा केही घण्टा पर रहेको जोउअरेमा रहेको नर्सिङ केन्द्र पुग्यो, तब त्यहाँको मानिसहरु खुशी देखिए। केन्द्रमा रहेका बिरामीहरुले जोरालार्इ माया गर्न थाले, उसलार्इ आफ्नै बच्चा जस्तै काखमा राख्दै गफ गर्न थाले।

अस्पतालमा बिरामीहरुलार्इ भेट्न कहिलेकाँहीमात्रै उनीहरुका आफन्तहरु आउँछन्। धेरै जसो बिरामीहरु डिमेनसियाबाट पीडित छन्, त्यसैले उनीहरुलार्इ विशेष स्याहार चाहिएको हुन्छ। एक्लो जीवन बिताइरहेका मानिसहरुका लागि जोरा सुखदुखको साथी भएको छ।

जोरालार्इ अस्पतालकै एक नर्सले ल्यापटपबाट नियन्त्रण गरिरहेको हुन्छ। बिरामीहरुलार्इ रोबोटको सञ्चालन नर्सले गरिरहेको छ भन्ने थाहा नै हुँदैन। जोराले बिरामीहरुसँग व्यायाम गर्नुका साथै खेल खेल्ने गर्छ। सो रोबोटले बिरामीहरुसँग कुरा पनि गर्ने गर्छ। नर्सले ल्यापटपबाट शब्दहरु टाइप गरेपछि रोबोटले त्यसै अनुसार कुरा गर्ने गर्छ।

मानव निर्मित सक्षम नर्स बन्नका लागि भने जोरालार्इ अझै केही समय लाग्नेछ। नर्सहरुले गर्ने काम जस्तै, औषधी दिने, रक्तचाप जाँच्ने काम जोराले गर्दैन। नर्स सोफि रिफल्टका अनुसार जोराले बिरामीहरुलार्इ व्यस्त बनाइ राख्ने सहयोग गरेको छ।

जोराबोट्स नामक बेल्जियम कम्पनीबाट निर्मित उक्त रोबोटको मूल्य १८ हजार डलर पर्छ। कम्पनीले विश्वका विभिन्न स्वास्थ्य संस्थाहरुमा हालसम्म करिब १ हजार यस्ता रोबोट बिक्री गरिसकेको बताएको छ। मानिससँग प्रत्यक्ष संलग्न हुने भएकोले स्वास्थ्य क्षेत्रमा यसको उपयोगिताको चर्चा हुन थालेको छ।

विश्वभर वृद्धवृद्धाहरुको संख्यामा वृद्धि भइरहेको छ। संयुक्त राष्ट्रसंघका अनुसार ६० वर्ष नाघेका मान्छेहरुको संख्या सन् २०५० सम्म २.१ बिलियन भन्दा बढी हुनेछ।

जोराबोट्सका सह कार्यकारी प्रमुख टमी डेबिलिक भन्छन्,’ हामी मानिसलार्इ एक्लोपनसँग लड्न सहयोग गर्न चाहन्छौं।’

वृद्ध अवस्थामा उनीहरुको स्याहार गर्ने मान्छे कम हुने भएकाले नयाँ प्रविधिको आवश्यक्ता रहेको केही वैज्ञानिकको तर्क छ।

यद्यपी, नर्स नथलि रेसिनले भने रोबोटले सकेपनि आफूले उनलार्इ विरामीहरुलार्इ खाना खुवाउन नदिने बताइन्। ‘बिरामीलार्इ चाहिने स्याहार र माया मानिसले जस्तो रोबोटले दिन सक्दैन’ उनले भनिन्।

स्वास्थ्यकर्मीहरुको हड्तालका कारण स्वास्थ्य सेवामा असर परेको, दक्ष जनशक्तिको अभाव र नर्सहरुको आत्महत्याका कारण फ्रान्सका स्वास्थ्य मन्त्रीले अस्पतालहरु समस्यामा रहेको प्रतिक्रिया दिएका थिए। रोबोटको प्रयोगबाट स्वास्थ्य क्षेत्रमा देखिएको नर्सको अभाव केही कम हुनसक्ने अनुमान गरिएको छ।

अष्ट्रेलियामा जोरा रोबोटको प्रयोगबारे गरिएको अनुसन्धानमा रोबोटको माध्यमबाट बिरामीहरुको ‘मूड’ ठिक भएको, उनीहरु अतिरिक्त क्रियाकलापमा सहभागी हुनथालेको फेला परेको थियो। फ्रान्समा रहेको उक्त केन्द्रमा अनुसन्धान गर्दा पनि त्यस्तै नतिजा प्राप्त भएको थियो। केही हप्ता अघि मात्र ल्याइएको जोराले संगीतका माध्यमबाट बिरामीहरुको ‘मूड’ ठिक बनाउने काम गरेको छ।

अस्पतालका नर्सहरु रोबोटसँग बिरामीहरुको लगाव देखेर अचम्मित भएका छन्। नर्स मिकेल फेरेट भन्छिन्’ जोराले अरुसँग समय बिताएको देख्दा बिरामीहरु इर्ष्या गर्छन्।’

चिकित्सकहरुलार्इ आफ्नो स्वास्थ्यबारे बिरामीहरुले धेरै जानकारी दिदैनन्। तर उनीहरुले ती कुराहरु रोबोटलार्इ बताइरहेका हुन्छन्। एक वृद्धाले आफू लडेको कुरा चिकित्सकलार्इ भनिनन्। तर जोरासँग भने उनले त्यो घटनाका बारे बताइरहेकी थिइन्।

करिब एक वर्षदेखि ट्रयासोटोमीको उपचार गराइरहेकी ७० वर्षे मारलेनि सिमोन भन्छिन्,’जोराले हाम्रो जीवनमा खुशीयाली ल्याएको छ। हामी यसलार्इ माया गर्छौं। ऊ मेरो अघि नहुँदा म उसलार्इ नै सम्झिरहेको हुन्छु। ‘

जोराले बिहान सधैँ प्रत्येक बिरामीहरुसँग भेट्छ र उनीहरुलार्इ व्यायाम गराउँछ। रातिको समय जोरालार्इ एउटा सुटकेसभित्र राखी चार्ज गरेर छोडिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed