![]()
काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आगामी चार वर्षमा राष्ट्रिय गौरवका ६ आयोजना पूरा हुने बताएका छन्। राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा मन्त्री महासेठले आगामी चुनावसम्म मन्त्रालय अन्तर्गतका ६ राष्ट्रिय गौरवका आयोजन पूरा हुने बताएका हुन्। उनले मध्यपहाडी लोकमार्ग (पुष्पलाल लोकमार्ग), हुलाकी लागेकमार्ग, उत्तर दक्षिण करिडोरहरू- कोसी, कर्णाली र कालिगण्डकी तथा रेलवे तथा मेट्रो विकास आयोजना आगामी चार वर्षमा निर्माण सम्पन्न हुने बताए।
मन्त्री महासेठले माघसम्म तराईमा आफ्नै रेल चलाउने बताए। उनले नेपालमा चार वर्षमा पूर्वपश्चिम, काठमाडौं तराई, काठमाडौं पोखरालगायत क्षेत्रमा विद्युतीय रेल संचालन गर्ने दाबी गरे। रेल संचालनबारे भारत र चीनसँग सम्झौता गरिएको जानकारी दिँदै मन्त्री महासेठले विगतमा राजनीतिक अस्थिरता र कर्मचारी अभावका कारण काम गर्न नसकिएको बताए।
मन्त्रीको दाबीमा सांसदहरूले भने आशंका जनाएका छन्। उनीहरूले वर्षौंदेखि सम्पन्न हुन नसकेका आयोजना ४ वर्षमा पूरा हुनेमा आशंका जनाएका हुन्।
मन्त्री महासेठ समितिमा १ घण्टा २० मिनेट ढिलो आएका थिए भने आफ्नो भनाइ राखेर बाहिरिएका थिए। समितिप्रति मन्त्रीले देखाएको व्यवहारमा सांसदहरूले सभापति दिलकुमारी रावलसँग असन्तुष्टि पोखेका थिए।


