![]()
झापा । प्रधानमन्त्री केपी ओलीले यही मंसिर २६ गते मेची पुलको उद्घाटन गर्ने भएका छन । नेकपा जिल्ला कमिटी झापाले प्रधानमन्त्री केपी ओलीको गृह जिल्ला झापा भ्रमणकाक्रममा पुलको उद्घाटन गरिने जनाएको हो ।
प्रदेश कमिटी सदस्य चिन्तन पाठक, बसन्त बानिया, झलकसिंह दर्लामी, बिष्णु शिवाकोटी, डिल्ली घिमिरे, होमबहादुर थापा, जीवन श्रेष्ठ, चन्द्र श्रेष्ठसहित उपस्थित भेलाले प्रधानमन्त्री ओलीको हातबाट भव्यतापूर्वक पुलको उद्घाटन गर्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री ओली मंसिर २५ गते गृह जिल्ला झापा जाने कार्यक्रम छ । उनी २५ गते २१ नम्बर बाहिनी चुलाचुलीमा बस्ने र २६ गते बिहान जिल्लास्तरीय कार्यकर्तासंगको भेटघाटमा व्यस्त हुनेछन । त्यसपछि सासारा क्याम्पहुँदै दशरथ शहीदपार्क शिलन्यास गर्ने कार्यक्रम छ ।
सो कार्यक्रममा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुबीर महासेठ र संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्री रविन्द्र अधिकारीपनि सहभागी हुनेछन । सोही दिन प्रधानमन्त्री ओलीले मेची पुलको उद्घाटन गर्ने प्रदेश कमिटी सदस्य चिन्तन पाठकले जानकारी दिए । पाठक पार्टीको जिल्ला कमिटीका सम्भावित अध्यक्षका रुपमा पनि हेरिएका छन ।
सूर्य जेभी निर्माण कम्पनीले मेची पुलको निर्माण सम्पन्न गरेको हो । पुल निर्माणका लागि ३६ महिनाको समय दिइएपनि पछि समय थप गरेर २०७५ साल साउन २२ गतेसम्मको म्याद दिइएको थियो । पुल निर्माणमा करिब ३८ करोड रुपैयाँ लागेको जनाइएको छ ।


