![]()
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहका अनुसार सामाजिक सञ्जालमा जथाभावी आकृति बिगारेर तस्बिर पोष्ट गर्ने, सेयर गर्ने, आईडी ह्याक गर्ने, कुरा नमिल्दा ब्ल्याकमेल गर्नेजस्ता घटना साइबर अपराध अन्तर्गत पर्दछन् । त्यसैले यस्ता कुराको प्रयोग गर्दा सचेतता नअपनाए कानुनी कारवाहीको दायरामा पर्ने सम्भावना हुन्छ । साइबर अपराधमा जानेर वा नजानेर विदेशमा बस्नेहरु बढी सक्रिय छन् ।
‘‘बेलाबेला नेताहरुको फेक आईडी बनाउने, अनावश्यक कुरा ब्लगहरुबाट सेयर गर्नेजस्ता कार्य हुने साइबर अपराध आकर्षित गर्ने विषय हुन् । समाजमा विकृति फैलाउने, कसैको तथ्यहीन बदनाम गर्ने कार्य कसैले लेखेमा त्यसको तल नकारात्मक कमेन्ट, लाइक सेयर गर्ने सबै पक्राउ पर्न सक्छन्,’’ एसएसपी सिंहले भने ।
फेक आईडीको मारमा सबैभन्दा बढी कलाकार र नेताहरु परेका छन् । साइबर अपराधबारे सबै सचेत हुनुपर्ने महाशाखाको सुझाव छ । विद्युतीय कारोबार ऐन अन्तर्गत साइबर अपराधमा संलग्नलाई कसुरको मात्रा हेरेर ३ वर्ष कैद वा दुई लाख रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ । पछिल्लो समय इमेल ‘ह्याकिङ’ हुने क्रम पनि बढ्दो छ ।
साइबर अपराध (साइबर क्राइम) कम्प्युटर तथा कम्प्युटर नेटवर्क प्रयोग गरेर हुने जुनसुकै प्रकारका अपराधहरु हुन् । साइबर अपराधमा इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेटसँग सम्बन्धित आपराधिक सबै गतिविधिहरु पर्छन् ।
इन्टरनेटको प्रयोगमार्फत् गरिने चरित्र हत्या, हिंसा फैलाउने कार्य, यौनजन्य हिंसा, इन्टरनेट धोकाधडी, अर्काको पहिचान अनधिकृत रूपमा प्रयोग, क्रेडिट कार्ड तथा एकाउन्ट आदिको चोरी गरी गरिने बैंकिङ कसुर, अर्काको कम्प्युटर, विद्युतीय उपकरण तथा नेटवर्कमा पुर्याउने क्षति लगायत अवैधानिक कार्य साइबर अपराध अन्र्तगत पर्छन् ।


