![]()
काठमाडौं । नयाँ शक्ति पार्टी नेपालका संयोजक एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’ छोरीबाट आशिर्वाद नलिएर निर्मला पन्तका हत्यारा छिटो सार्वजनिक गर्न सुझाव दिएका छन्।
सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै डा. भट्टराईले खस्कदै गएको लोकप्रियता र छवि सुधार्न ‘ईश्वर’ छोरीबाट आशिर्वाद र पोलपोलमा आफ्नै फोटो झुण्ड्याउनुको सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका हत्यारा छिटो सार्वजनिक गर्न प्रधानमन्त्री ओलीलाई सुझाव दिएका हुन्।
उनले निर्मला पन्तको हत्याको प्रमाण मेटाउनेलाई दुई घण्टा केरकार गरे हत्यारा पत्ता लाग्ने उल्लेख गरेका छन्। उनले लेखेका छन्-
प्रमलाई सानो सुझाव-आफ्नो खस्कदै गएको लोकप्रियता र छवी सुधार्न ‘ईश्वर’का छोरीबाट आशिर्वाद,पोलपोलमा आफ्नै फोटो सट्टा अहिले प्रत्येक नेपालीको हृदयमा गडेकी जनताकी छोरी निर्मला पन्तका बलात्कारी-हत्यारा छिटो सार्वजनिक गर्नोस् न! प्रमाण मेटाउनेलाई दुइ घण्टा केरकार गरे अरू झन्झटै पर्दैन!
भट्टराईले ट्वीटमा बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मलाका परिवारलाई न्याय दिलाउन भन्दै पोल पोलमा टाँस्न खोज्दा प्रहरीले सामाजिक अभियन्ताहरुलाई पक्राउ गर्नुका साथै पोस्टर च्यातेको प्रति पनि कटाक्ष गरेका छन्।


