![]()
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले अस्पतालबाटै अनौपचारिक रुपमा आफ्नो काम थालनी गरेका छन् । शिक्षण अस्पतालमा उपचारार्थ प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्थाका बारेमा जानकारी दिँदै प्रा. डा. अरुण सायमीले रक्षा, गृह र ऊर्जामन्त्रीसँग अस्पतालमै बैठक राखी आफ्नो कामको सुरुवात गरेको बताए।
अस्पतालका निर्देशक प्रा. डा. उत्तमकृष्ण श्रेष्ठले गत सोमबार भर्ना भएपछि अहिलेसम्मको अवधिमा प्रधानमन्त्रीको स्वास्थ्यमा प्रत्येक घण्टा सुधार आएको छ, एन्टिवायोटिकको कोर्ष एक/दुई दिन बाँकी रहेकाले त्यो अवधिसम्म अस्पतालमै रहनु उपयुक्त हुने सल्लाह प्रधानमन्त्री ओलीलाई दिएको जानकारी दिए।
प्रधानमन्त्रीका स्वास्थ्य अवस्थाका बारेमा अस्पतालले बुधबार बिहान १० बजे जारी गरेको प्रेस विज्ञप्तिमा बिहान परीक्षण गरिएका रिपोर्टहरू सन्तोषजनक रहेको र स्वास्थ्य स्थितिमा थप सुधार देखिएको उल्लेख छ।


