![]()
काठमाडौं । अहिले सामाजिक संजालमा पूर्व प्रधानन्यायाधीश गोपालप्रसाद पराजुलीले राष्ट्रपति बिद्या भण्डारीसंग टीका थापेको फोटो चर्चामा छ । पराजुलीले दुवै घुँडा टेकेर राष्ट्रपति भण्डारीसंग टीका थापेका छन भने राष्ट्रपति भण्डारीले पनि सुविधाजनक कुर्सीमा बसेर टीका लगाइ दिएकीछिन ।
बिषय सामान्य हो, तर राष्ट्रपतिले राजा महाराजाको शैलीमा टीका लगाएको भन्दै सामाजिक संजालमा यो फोटो भाइरल बनेको छ । राजनीतिक दलका नेताहरु लगायत लब्ध प्रतिष्ठित व्यक्तिहरुले पनि गणतन्त्रमा यस्तो ? भन्दै फोटो शेयर गरिरहेका छन ।
कतिपयले राष्ट्रपति कार्यालयमा टीका लगाउँदा टीका थाप्ने व्यक्तिलाई बस्ने मेचको पनि व्यवस्था नभएको भन्दै कटाक्ष गरेका छन । प्रधानमन्त्री केपी शर्मा ओली, अर्थमन्त्री डा. युवराज खतिवडा लगायतले टीका लगाउँदा कुर्सीमा बसेको देखिएपनि पराजुली लगायत प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले निहुरिएर टीका थापेका थिए, कुर्सी थिएन ।
नेकपाका सचिवालय सदस्य वामदेव गौतम दम्पती पनि टीका लगाउने क्रममा उभिएका देखिन्छन् ।
फोटोभाइरल भएपछि पूर्व प्रधानन्यायाधीश पराजुलीले फेसबुकमा जथाभावी फोटो राखिएको भन्दै आपत्ति जनाएका छन् । ‘‘सत्यतथ्य नबुझी फेसबुकमा जथाभावी फोटाहरू विकृत तवरबाट राख्नु र कसैको उपहास गर्नु कानुनतः अपराध हुन्छ र त्यो कार्य शिष्टाचारीहरूको मर्यादा र नैतिकताले दिँदैन,’’ उनले फेसबुकमा भनेका छन् ।


