Breaking News.... EverestOnlineKhabar
May 2, 2026

खशोग्गीको अन्तिम स्तम्भ वासिङ्टन पोष्टमा प्रकाशित

Loading

बीबीसी । हराइरहेका साउदी पत्रकार जमाल खशोग्गीको अरब देशहरूमा प्रेस स्वतन्त्रताको आह्वान गरिएको अन्तिम स्तम्भ वासिङ्टन पोष्टले प्रकाशित गरेको छ। उक्त पत्रिकाले अब खशोग्गी सुरक्षित नफर्कने देखिएपछि उक्त स्तम्भ प्रकाशित गर्ने निधो गरेको जनाएको छ।

अक्टोबर २ तारिखमा इस्तानबुलस्थित साउदी महावाणिज्य दूतावासमा प्रवेश गरे यता उनी देखा परेका छैनन्। टर्कीका अधिकारीहरूले उनी त्यहीँ मारिएको आरोप लगाएका छन्। हत्याको आरोप अस्वीकार गरेको साउदी अरेबियाले अनुसन्धानकर्तालाई गएको रातभरी छानबिनका लागि प्रवेश गर्न अनुमति दिएको थियो।

अनुसन्धानसँग निकट रहेका स्रोतहरूले आफूहरूसँग खशोग्गीले यातना पाएको र अन्तत: महावाणिज्य दूतावासमा हत्या भएको अडियो प्रमाण आफूसँग भएको जनाएका छन्। यद्यपि त्यो सार्वजनिक भने गरिएको छैन।

बुधवार अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले यदि त्यस्तो अडियो प्रमाण भए त्यो अमेरिकाले मागेको बताएका छन्। यसैबीच, विश्वभरका नेताहरूले अर्को साता साउदी अरेबियामा हुने लगानीसम्बन्धी सम्मेलनमा भाग नलिने बताएका छन्। यद्यपि, केही प्रमुख व्यापारिक घरानाहरूले भने बहिष्कार गर्न बढ्दो दबाबका बावजुद भाग लिन जाने आशय अझै देखाएका छन्।

वासिङ्टन पोष्टकी ग्लोबल ओपिनियन सम्पादक क्यारेन अटियाले खशोग्गीको स्तम्भले उनको अरब विश्वप्रतिको स्वतन्त्रतामाथिको प्रतिवद्धता र लगावलाई दुरुस्त समेटेको बताएकी छन्। उनले खशोग्गी हराएको खबर आउनु एक दिनपछि उक्त स्तम्भ खशोग्गीका अनुवादक तथा सहयोगीबाट पाएको खुलाएकी छन्।

केही समयका लागि जमाल फर्किन्छन् र उक्त स्तम्ब सँगै बसेर सम्पादन गर्न सकिन्छ भनेर आफूले आशा गरेको अटियाले लेखेकी छन्। तर अब त्यो हुने नदेखिएपछि उक्त स्तम्भ छाप्ने निधो गरिएको बताएकी छन्।

उक्त स्तम्भमा खशोग्गीले अरब देशहरूमा मानिसहरूलाई या त सूचनै नदिइएको वा गलत सूचना दिइएको दाबी गर्दै प्रेस स्वतन्त्रताको अवस्थाबारे आलोचना गरेर लेखेका छन्।

गत वर्ष साउदी अरेबियाका अधिकारीहरूले त्यहाँका राजकुमारको नीतिहरूको आलोचना बन्द गर्न खशोग्गीलाई चेतावनी दिइएको बताइएको थियो। त्यसयता उनी स्वनिर्वासनमा गएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed