Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । टर्कीको प्रहरीले साउदी अरेबियाका पत्रकार जमाल खशोग्गीलाई इस्तानबुलस्थित उनकै देशको वाणिज्य दूतावासमा हत्या गरिएको आफूहरूको विश्वास रहेको बताएको छ। हुन त प्रहरीले त्यस्तो निष्कर्षमा पुग्नुको पछाडि कुनै प्रमाण प्रस्तुत गरेको छैन, तर गत मङ्गलवार साउदी वाणिज्य दूतावास गएपछि खशोग्गी बेपत्ता भएका थिए।

साउदी अरेबियाका अधिकारीहरूले टर्कीको प्रहरीको आरोपलाई आधारहीन भनेको छ। साउदी अधिकारीहरूले खशोग्गी त्यो दिन दूतावास भवनबाट निस्किसकेको बताउने गरेका छन्, तर टर्कीले उनको हत्या गरिएको र त्यसपछि शव हटाइएको जनाएको छ।टर्कीको भूमिमा साउदी अरेबियाकै संलग्नतामा पत्रकारको हत्या गराइएको पुष्टि भए दुई देशबीचको सम्बन्ध नाटकीय रुपमा चिसिन सक्ने बताइएको छ।

खशोग्गीका रोजगारदातामध्येका एक वाशिङटन पोस्ट पत्रिकाले उनको हत्या गरिएको सत्य भए त्यो जघन्य अपराध हुने र दोषीलाई दण्डित गर्नुपर्ने जनाएको छ।संयुक्त राज्य अमेरिकाले पत्रकार खशोग्गीको बेपत्ता प्रकरणबारे थप सूचना सङ्कलन गरिरहेको बताएको छ। साउदी राजकुमार मोहम्मद बिन सलमानका कतिपय नीतिको प्रखर आलोचक खशोग्गी अमेरिकामा निर्वासनमा बस्दै आएका थिए। खशोग्गीसँग बिहेको छिनोफानो भइसकेकी महिला पनि उनीसँगै वाणज्य दूतावास गएकी थिइन्, तर उनलाई वाणिज्य दूतावास छिर्न दिइनन्।

विवाह दर्ताका लागि गर्नुपर्ने कागजी कामका लागि खशोग्गी वाणिज्य दूतावास गएको बताइएको थियो। साउदी सरकारका स्थापित आलोचक खशोग्गी खासगरी साउदी राजकुमार मोहम्मद बिन सलमान नेतृत्वको सुधार योजनाको उनी आलोचक रहिआएका थिए।यसअघि अल-वतन पत्रिका र केही समय चलेको साउदी टीभी न्यूज च्यानलका सम्पादक रहिसकेका खशोग्गीले साउदी अरेबिया र मध्यपूर्वबारे बीबीसी कार्यक्रमका लागि पनि काम गरेका थिए।

साउदी राजपरिवारका सल्लाहकार रहिसकेका खशोग्गीले प्रेस स्वतन्त्रतामा कडाइ गरिएपछि एक वर्षअघि साउदी छाड्नुअघि कैयौँ वर्षसम्म उनलाई राजपरिवारका भित्री मानिसका रूपमा पनि हेर्ने गरिन्थ्यो।किशोर ओसामा बिन लादेनसँग नजिकको सम्बन्ध रहेकोमा पनि चिनिएका खशोग्गीले उनीसँग सन् १९८० को दशकमा अफगानिस्तानको व्यापक भ्रमण गरेका थिए।यद्यपि उनले सार्वजनिक रूपमै ओसामा बिन लादेनका दर्शनहरूको आलोचना गरे। र, सन् २००१ मा अमेरिकामा गरिएको हमलाभन्दा पहिल्यैदेखि नै उनी ओसामा बिन लादेनको सम्पर्कमा थिएनन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed