![]()
बीबीसी । पाकिस्तान सरकारले देशभित्र काम गरिरहेका अन्तर्राष्ट्रिय संगठन (एनजीओ)हरुलाई ६० दिनभित्र देश छाड्न आदेश दिएको छ । पाकिस्तानले एनजीओहरुलाई आफ्नो काम तत्काल रोक्न निर्देशन दिएको हो ।
पाकिस्तानी सरकारको निर्णयबाट प्रभावित एक्सन एडले सरकारको यो निर्णय नागरिक समाज माथि भएको हमलाको अर्को शृङ्खला भएको प्रतिक्रिया दिएको छ । पाकिस्तानको गृहमन्त्रालयले भने यसबारे कुनै प्रतिक्रिया दिएको छैन ।
सरकारका तर्फबाट एक्सन एडलाई पठाइएको पत्रमा छ महिनापछि रजिष्ट्रेसनका लागि पुनः आवेदन गर्न सक्ने उल्लेख छ । पाकिस्तानमा मानवअधिकारको उल्लंघन र प्रेस स्वतन्त्रतामा अंकुश लगाउने घटना बढेपछि सरकारले अन्तर्राष्ट्रिय संघसंस्थालाई देश छोड्न आदेश दिएको हो ।
पाकिस्तानको गुप्तचर निकायले अन्तर्राष्ट्रिय संगठनलाई सधैं शंकाको दृष्टिले हेर्ने गरेको छ । यसअघि सन् २०१७ को डिसेम्बरमा पनि पाकिस्तानले एक्सन एडसहितका कतिपय अन्तर्राष्ट्रिय एनजीओलाई देश छाड्न आदेश दिएको थियो ।


