![]()
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुरक्षालाई थप मजबुत बनाउनका लागि एक हजार ८०० स्थानमा सिसी क्यामेरा जडान गर्ने तयारी गरेको छ । यसअघि नेपाल प्रहरीले कामपाभित्र ३५० स्थानमा सिसी क्यामेरा जडान गरिसकेको छ । ती क्यामेराले अपुग भएपछि कामपाले थप क्यामेरा जडान गर्न लागेको हो।
अब जडान गर्ने अरु एक हजार ४०० भन्दा बढी क्यामेराको लागि पनि नेपाल प्रहरीसँगै मिलेर नै काम गर्ने कामपाको सूचना प्रविधि महाशाखा प्रमुख ध्रुव काफ्लेले जानकरी दिए। जडानको लागि एक हप्ताअघि कामपा र नेपाल प्रहरीबीच कार्यदल बनिसकेको छ।
त्यसैगरी आगामी दिनमा फोहर सङ्कलन क्षेत्रमा पनि क्यामेरा राखिनेछ । नगरका कर्मचारीले समयमा नै फोहर सङ्कलन गरेकी गरेनन् भन्नेबारे जानकारी लिने र नगरेमा कारवाही गर्न सहजिलो हुने विश्वास गरिएको छ । त्यस्तै सर्वसाधारणले पनि जथाभावी फोहर फालेका छन् की छैनन् भन्ने जानकारीको लागि पनि यसरी क्यामेरा जडान गर्न लागिएको हो ।
सम्पदा क्षेत्रको संरक्षण र सरसफाइ नियमित गर्नका लागि क्यामेराले सहयोग गर्ने पनि जनाइएको छ । क्यामेराको क्षमताको आधारमा कति कति दूरीका क्यामेरा जडान गर्ने निश्चित गरिन्छ । सामान्यतया एउटा क्यामेराले तीन मिटरदेखि २५ मिटरसम्मको क्रियाकलापलाई सुरक्षित गर्दछ ।


