Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

बीबीसी । चीनकी प्रख्यात अभिनेत्री फान बिङबिङलाई करछलीसहितका अभियोगमा १२ करोड ९० लाख अमेरिकी डलर जरिवाना तिर्न आदेश दिइएको छ। गत जुलाईदेखि बेपत्ता भएकी ती अभिनेत्रीले सामाजिक सञ्जालमा लामो क्षमायाचना गरेकी छन्।

चीनमा धेरै पारिश्रमिक पाउने अभिनेत्रीमध्येकी एक फानले समयमै जरिवाना तिरे फौजदारी अभियोगहरू खेप्नु नपर्ने चिनियाँ समाचार संस्था सिन्हुआले जनाएको छ। कलाकारहरूको पारिश्रमिकबारेको एउटा सरकारी छानबिनमा उनी तानिएकी थिइन्।

चलचित्रका केही कलाकारमाथि तथाकथित ‘यिन-याङ सम्झौता’ अन्तर्गत पारिश्रमिक लिने गरेको आरोप छ। सो सम्झौताअन्तर्गत कलाकारहरूले लिने वास्तविक सम्झौता एउटा हुन्छ भने कम पारिश्रमिक देखिने अर्को सम्झौता हुन्छ। अधिकारीहरूले फान र उनको कम्पनीलाई कर, जरिवाना तथा दण्डस्वरूप अर्को जरिवाना तिर्न आदेश दिएका छन्।

एक्स-मेन र आइरन म्यान फिल्म फ्र्यान्चाइजमा देखा परेकी ३७ वर्षीया यी अभिनेत्री जुलाई १ देखि सार्वजनिक रूपमा देखिएकी छैनन्। उनी कहाँ छिन् भन्नेबारे विभिन्न लख काटिँदैछ। अहिले उनी कहाँ छिन् भन्ने थाहा नभए पनि उनलाई गोप्य थुनामा राखिएको विवरणमा जनाइएको छ।

बुधवार सामाजिक सञ्जाल वेइबोमा आफ्ना दशौँ लाख प्रशंसकलासँग क्षमायाचना गर्दै उनले लेखेकी छन्, “यसअघि नभोगेको पीडाबाट म अहिले गुज्रिरहेकी छु। मैले जे गरेकी छु त्यसका लागि म लज्जित छु। म सबैसँग क्षमायाचना गर्छु।”

“कर अधिकारीहरूले छानबिनपछि गरेको दण्ड जरिवानालाई म पूर्ण रूपमा स्वीकार गर्दछु। म कानुनको पालना गर्नेछु, कठिनाइबाट पार पाउने सक्दो प्रयास गर्नेछु, रकम सङ्कलन गर्नेछु, कर र जरिवाना तिर्नेछु।”

आफ्नो वक्तव्यमा फानले सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको पनि प्रशंसा गरेकी छन्। “पार्टीका र देशका राम्रा नीति नभइदिएको भए र जनताका माया नपाएको भए फान बिङबिङ हुन्नथिन्।”

फानको प्रतिनिधिलाई थप अनुसन्धानका लागि थुनामा राखिएको छ। यसअघि उनको स्टुडियोले फानले ‘यिन-याङ सम्झौता’ कहिल्यै नगरेको बताएको थियो। बीबीसीका चीन सम्वाददाता रोबिन ब्रान्ट भन्छन्, भ्रष्टाचार अथवा करछलीको आरोपमा बेपत्ता हुने फान चिनियाँ राजनीति बाहिरको ठूलो व्यक्तित्व हुन्।

उनी चीनका अति प्रभावशाली कलाकारमा पर्छिन् र गत वर्ष फोर्ब्स म्यागजिनमा उनी वार्षिक ३० करोड युयान कमाउने अभिनेत्रीका रूपमा शीर्ष चिनियाँ कलाकारको सूचीमा परेकी थिइन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed