![]()
काठमाडौं। पूर्वपरराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका सह–महामन्त्री डा. प्रकाशशरण महतले बिमस्टेक राष्ट्रहरुले प्रभावकारी भूमिका खेल्न नसकेको बताएका छन् । काठमाडौंमा सम्पन्न भएको चौथो शिखर सम्मेलनका बेला चर्चा परिचर्चा धेरै भए पनि यसबाट नेपालले फाईदा लिन नसकेको उनको भनाइ छ ।
बिमस्टेकमा रहेका अरु राष्ट्रले पनि यसबाट कसरी फाईदा लिने भन्ने विषयमा धेरै चासो नदिएका कारण यसको प्रभावकारिता बढ्न नसकेको उनले बताए ।
रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै डा. महतले व्यापार, लगानी, पर्यटन र पारवहनको क्षेत्रमा बिमस्टेक राष्ट्रहरुले समन्वय गर्नुपर्नेमा जोड दिए । उनले नेपालले बिमस्टेक राष्ट्रहरुसँग सहकार्य गरेर व्यापार घाटा कम गर्न सक्नुपर्नेमा जोड दिए । ग्रिड कनेक्टिभिटीमा सम्झौता भए पनि यसको कार्यान्वयन पक्ष स्पष्ट नभएको उनले गुनासो गरे ।
ग्रिड कनेक्टिभिटी सम्झौता कार्यान्वनय हुने हो भने नेपालमा विद्युत उत्पादन गरेर अरु देशमा बेच्न सकिने भएकाले यसका लागि नेपालले नै प्रभावकारी भूमिका खेल्नुपर्ने महतले बताए ।
बिमस्टेक राष्ट्रबीच रेलवे र सडकमार्ग विस्तार गर्न सक्ने हो भने नेपालको पर्यटन क्षेत्रको विकास सहज हुने महतको भनाइ छ । ‘म्यानमार–थाइल्याण्ड जोड्ने रेलवे र सडकमार्ग बन्ने हो भने बौद्ध धर्मावलम्वीहरुलाई लुम्बिनी ल्याउन सकिन्छ । पर्यटनसँग सम्बन्धित अरु धेरै कार्यक्रम गर्न सकिन्छ,’ उनले भने ।
नेपालमा रेल ल्याउने योजना राम्रो भएपनि यसका लागि नेपालसँग पुँजी नभएको भन्दै भारत वा चीन जहाँबाट रेलमार्ग बनाए पनि त्यही देशले बनाइदिनुपर्ने उनको भनाइ छ ।
अहिलेको सरकारले स्पष्ट परराष्ट्र नीति बनाउन नसकेको महतको आरोप छ । ‘सत्तारुढ दल नेकपा सरकारबाहिर हुँदा एकथरी र सरकारमा हुँदा अर्कोथरी कुरा गर्छ,’ उनले भने, ‘यसरी परराष्ट्र नीति राम्रो हुँदैन ।’


