Breaking News.... EverestOnlineKhabar
May 4, 2026

यौन दुर्व्यवहारको आरोप लागेपछि ट्रम्प निकट रिपब्लिकन नेताको राजीनामा

Loading

बिबिसि । लास भेगस स्थित क्यासिनोका मालिक स्टिभ विनले रिपब्लिकन पार्टीको राष्ट्रिय समितिको आर्थिक मामिला प्रमुखको पदबाट राजीनामा दिएका छन्।

यौन दुर्व्यवहारको आरोपपछि राष्ट्रपति ट्रम्पका निकट मित्र रहेका विनको राजीनामा आएको हो । अर्बपति क्यासिनो मालिक तथा राष्ट्रपति ट्रम्पका मित्र स्टिभ विनलाई दर्जनौँ महिला कर्मचारीलाई यौन क्रियाकलाप गर्न बाध्य बनाएको आरोप लगाइएको छ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा समाचार अनुसार एउटा त्यस्तो विवाद सल्टाउन उनले कैयौं लाख डलर तिरेका थिए । स्टिभ विनको लास भेगस र मकाउमा क्यासिनोहरू रहेका छन् र उनको सम्पत्ति अर्बौ डलरमा रहेको बताइन्छ।

वाल स्ट्रिट जर्नलमा छापिएको एउटा लेखमा दर्जनौं पूर्व र बहलवाला कर्मचारीलाई यौन दुर्व्यवहार गरेको आरोप लगाइएपछि उनले राजीनामा दिने निर्णय लिएका हुन्। उक्त लेखमा विनले महिला कर्मचारीलाई यौन गतिविधिमा संलग्न गराएको र महिलालाई काम गर्न असुरक्षित वातावरण बनाएको आरोप लगाइएको छ ।

हात र नङको सुन्दरता सम्बन्धी काम गर्ने एक पूर्व कर्मचारीलाई उनले ७५ लाख डलर तिरेर एउटा यौन दुर्व्यवहार सम्बन्धी विवाद टुङ्गो लगाएको पनि उक्त लेखमा दाबी गरिएको छ। ती आरोपहरू अपमानजनक भएको भन्दै उनले सम्बन्धविच्छेद फर्छ्यौटलाई लिएर उत्पन्न विवादका माझ आफ्नी श्रीमतीले त्यसलाई उचालिरहेको आरोप लगाएका छन्।

विन संस्थापक, अध्यक्ष र प्रुमख कार्यकारी रहेको विन रिजोर्टस् लमिटेडले ती आरोपहरूबारे जाँच गर्न एउटा समिति गठन गरेको छ । उनी राष्ट्रपति डोनल्ड ट्रम्पका निकट मित्र हुन् र रिपब्लिकन पार्टीको उक्त पदका लागि ट्रम्पले नै उनलाई चयन गरेका थिए।

ट्रम्पसँग छलफल गरेरमात्र विनको राजीनामा स्वीकृत गरिएको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed