![]()
एजेन्सी,माघ ।
युरोपियन च्याम्पियन रियल मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलबाट बाहिरिएको छ ।क्वाटरफाइनलमा लेगानेससँग अवे गोलको आधारमा पछि पर्दै १९ पटकको बिजेता रियल मड्रिड क्वाटरफाइनलबाट बाहिरिएको हो । घरेलु मैदानमा बुधबार राति भएको क्वाटरफाइनलको दोस्रो लेगमा रियल लेगानेससँग २ – १ ले पराजित भएको थियो । पहिलो लेगमा १ – ० को अग्रता बनाएको रियल घरेलु मैदानमा २ – १ ले पराजित भएपछि दुई टोलीबीचको खेल समग्रमा २ – २ को बराबरीमा सकिएको थियो । क्वाटरफाइनल खेल समग्रमा बराबरी भएपछि अवे गोलको आधारमा लेगानेसले सेमिफाइनलमा स्थान बनाएको हो ।
रियललाई उसैको मैदानमा हराउन लेगानेसका जाभियर इरासो र गाब्रियलले समान एक एक गोल गरेका थिए । रियलका बेन्जिमाले एक गोल फर्काए । सान्टियागो बर्नाबेउमा लेगानेसले खेलको ३२ औं मिनेटमा जाभियरको गोलबाट अग्रता बनाएको थियो । खेलको ४७ औं मिनेटमा बेन्जिमाले गोल गर्दै खेल १ – १ को बराबरीमा ल्याए । तर, ५५ औं मिनेटमा ग्राबियलले गोल गर्दै लेगानेसलाई महत्वपूर्ण २ – १ को जित दिलाए ।


