![]()
एजेन्सी,पुस ।
एथ्लेटिको मड्रिड स्पेनिस कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । कोपा डेल रे अन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा लिइदा इस्पोर्टिओलाई ३ – ० ले पराजित गर्दै एथ्लेटिको मड्रिडले अन्तिम आठमा स्थान पक्का गरेको हो ।
घरेलु मैदानमा भएको दोस्रो लेगमा एथ्लेटिको मड्रिडलाई जित दिलाउन यानिक कारास्को, केभिन गामीरो र भिटोलोले समान एक एक गोल गरे । दोस्रो लेगको जितसँगै एथ्लेटिको मड्रिडले समग्रमा ७ – ० को जितसहित क्वाटरफाइनलमा स्थान बनाएको हो । पहिलो लेगमा एथ्लेटिको मड्रिड ४ – ० ले विजयी भएको थियो ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको दोस्रो लेगमा दोस्रो हाफमा ३ गोल गर्दै एथ्लेटिको मड्रिडले सहज जित निकाल्यो । खेलको ५७ औं मिनेटमा कारास्कोले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए । खेलको ७४ औं मिनेटमा गामीरोले गोल गर्दै एथ्लेटिको मड्रिडको अग्रता २ – ० को बनाए । त्यसपछि खेलको ८१ औं मिनेटमा भिटोलोले गोल गर्दै एथ्लेटिको मड्रिडलाई ३ – ० को सहज जित दिलाए ।


