![]()
काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच चुनाव लगत्तै पार्टी एकता गर्ने सहमति भएपनि अहिले अन्यौल देखिएको छ । राजनीतिक, सैद्धान्तिक तथा सांगठानिक जटिलताको व्यवस्थापन हुन नसक्दा एकता प्रक्रिया अन्यौलमा परेको हो ।
यसैबीच, आइतबार बस्ने भनिएको नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकता संयोजन समिति बैठक स्थगित भएको छ । केही दिनदेखि गृह जिल्ला चितवनमा रहेका माओवादी अध्यक्ष दाहाल खराब मौसमको कारण देखाउँदै काठमाडौं नआएपछि बैठक प्रभावित भएको भनिएको छ ।
एमाले अध्यक्ष केपी ओली माघ २६ गते बैंकक जाने तयारीमा छन । यो बिचमा संयोजन समितिको बैठक देखाउनका लागि भएपनि राख्नैपर्ने दबाब छ । संयोजन समितिको बैठकले एकताका सम्पूर्ण प्रक्रिया टुंग्याउने गरी ठोस गृहकार्य पनि गर्न सकेको छैन ।
पार्टी एकता संयोजन समितिमा एमालेबाट अध्यक्ष ओलीसहित नेताहरू माधवकुमार नेपाल, झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल छन्। समितिमा माओवादी केन्द्रबाट अध्यक्ष दाहालसहित नेताहरू नारायणकाजी श्रेष्ठ र रामबहादुर थापा बादल छन्।
सरकारको नेतृत्व गरिरहेको कांग्रेसले नयाँ सरकार गठन प्रक्रिया लम्ब्याइदिँदा एमाले माओवादी एकता प्रक्रिया पनि लम्बिने देखिएको छ । यो बिचमा रात रहे अग्राख पलाउने त्रासबाट समेत बाम नेताहरु चिन्तित देखिन्छन ।


