![]()
काठमाडौ,२७ जेठ ।
भारत र अमेरिकाले नेपालको विदेश नीतिमा ठुलो चाँसो राखेका छन् । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । शुक्रबार उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी छिन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिको निरन्तरतामा जोड दिइन् ।
शुक्रबार दिउँसो पौने १ बजे विदेशमन्त्री स्वराजले उपप्रधानमन्त्री महरालाई दिल्लीबाट टेलिफोन गरेर बधाई दिएकी थिइन् । माओवादी केन्द्रका विदेश विभाग सदस्य एवं महराका प्रमुख स्वकीय सचिव युवराज चौलागाईंका अनुसार करिब १० मिनेट लामो कुराकानीमा स्वराजले विगतको निरन्तरता चाहेको बताएकी थिइन् ।
उपप्रधानमन्त्री महराले अघिल्लो सरकारले लिएको नीति वर्तमान सरकारले लिने आश्वस्त पारेका थिए । अमेरिकी राजदूत टेपलेट्जले प्रचण्ड नेतृत्वको सरकारको प्रशंसा गर्दै आर्थिक समृद्धि र संस्थागत विकासको जग बसाएको उल्लेख गरेकी थिइन् । उपप्रधानमन्त्री महराले अमेरिकी अनुदान बजेट कटौती भएको विषयमा चासो राखेका थिए । नेपालको आर्थिक विकासमा अमेरिकी सहयोग अपेक्षित रहेको महराको भनाइ थियो ।


