![]()
मोरङ,२७ जेठ ।
प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले सबै दलसँग छलफल गरी असार १४ गते तोकिएको निर्वाचन मिति कुनै पनि हालतमा नसर्ने बताएका छन् । विराटनगरमा पत्रकारसँगको कुराकानीमा उनले निर्वाचनको लागि व्यवस्थापकीय रुपमा सबै काम अगाडि बढिसकेकोले अब निर्वाचन मिति सर्ने कुनै वहाना नचल्ने बताएका हुन् । दोस्रो चरणको निर्वाचन सफल बनाउन सबैलाई सहयोग गर्न उनले आग्रह गरे ।
उनले राष्ट्रिय जनता पार्टी निर्वाचन आयोगमा दर्ता नभएकोले चुनाव चिह्न दिन नमिल्ने प्रष्ट पारे । उनले भनेः‘निर्वाचन ऐन संशोधनले दलहरुलाई टिकट वितरणमा आधिकारिक हस्ताक्षरको लागि मात्रै समय दिएको हो किनकि राष्ट्रिय जनता पार्टीले निर्वाचन आयोगमा आधिकारिक हस्ताक्षर बुझाएको थिएन, ६ वटा दल मिलेर गठन भएको राष्ट्रिय जनता पार्टीलाई उक्त दलहरुमध्ये नै कुनै दलको चुनाव चिन्ह रोजेर निर्वाचनमा भाग लिनु पर्ने अवस्था छ र त्यसको लागि नेताहरुले पटक पटक आफूसँग समेत छलफल गरेर गइसकेका छन् ।’
स्थानीय तहको निर्वाचनमा सबैको ठूलो आशा रहेकोले राष्ट्रिय जनता पार्टीलाई सहभागी भएर निर्वाचन माहोल बनाउन उनले आग्रह गरे । उनले भरतपुर महानगरपालिकामा जनताले खसालेको मत पत्र च्यातिने काम प्रजातान्त्रिक मूल्यमान्यताविपरीत भएको बताए ।
यादव अगाडी भन्छन्ः‘ भरतपुर बहुत् गलत घटना भएको हो, त्यसको जिम्मेवारी नागरिक, राजनीतिक दलका नेता कार्यकर्ताले लिनुपर्छ, राजनीतिक दल, उम्मेदवार, कार्यकर्ता स्वयं प्रजातान्त्रिक हुनुपर्छ र भरतपुरमा भएको अपराधिक घटनालाई कानुनले निरुत्साहित गर्नुपर्छ र आफूले त्यही गरेको छु ।’
सबै राजनीतिक दलहरुलाई प्रजातान्त्रिक मूल्यमान्यताअनुसार निर्वाचन गराउन र अपराधिक कार्य नगर्न उनले आग्रह गरे । उनले दोस्रो चरणको मतगणना स्थल फरक किसिमबाट सुरक्षित रुपमा निर्माण गर्ने कार्ययोजना बनाएर काम अगाडि बढाइएको बताए । छिटो छरितो मतगणना गर्ने कार्यसमेत उक्त कार्ययोजनामा समावेश रहेको उनले सुनाए । उनले मतगणना सहज र छिटो गर्नका लागि नै मतदान गर्ने स्वस्तिक चिह्न रातो रंगको निर्धारण गरिएको बताए ।


