![]()
काठमाडौ,२३ जेठ ।
बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजना सकिने समय लम्बिने सम्भावना बढेको छ। सुरुङ खन्ने रफ्तार घटेपछि १५ असोजभित्र उपत्यकामा खानेपानी ल्याउने सम्भावना घटेको हो। मेलम्ची खानेपानी आयोजनाका अनुसार अहिले ठेकेदार कम्पनीले दैनिक १७ मिटरका दरले सुरुङ खन्दै आएको छ। १५ असोजभित्र उपत्यकाभित्र खानेपानी ल्याउन दैनिक २८ मिटरका दरले सुरुङ खनिनुपर्ने थियो। २७.५८४ किमिमध्ये २४.३४९ किमि सुरुङ मात्र सकिएको छ। अझै ३.१६६ किमि सुरुङ खन्न बाँकी छ।
आयोजनाका कार्यकारी निर्देशक रामचन्द्र देवकोटाले विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको बताए। देवकोटाले भनेः‘विगतको तुलनामा सुरुङ खन्ने रफ्तार घटेको छ। पहिला एकैपटक ६ स्थानबाट काम हुन्थ्यो। अहिले चार स्थानबाट मात्रै काम भइरहेको छ।’
सुरुङमा नरम चट्टान भेटिएको र खन्ने रफ्तारमा पनि केही कमी आएकाले १५ असोजभित्र काम सक्न कठिन देखिएको देवकोटाले बताए। उनले अगाडी भनेः‘सुरुङ खन्ने क्रममा अहिले नरम चट्टान भेटिएको छ। कामको रफ्तार घट्नुको यो एउटा कारण हो,प्राविधिक पक्ष विश्लेषण गर्दा तोकिएको समयमा उपत्यकामा पानी ल्याउने सम्भव देखिएको छैन। तर, पनि १५ असोजभित्र काम सक्न हामी प्रतिबद्ध छौँ।’
मेलम्ची खानेपानी आयोजनाको लागत ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार तीन सय ४२ रुपैयाँ छ। निर्माणमा इटालियन ठेकेदार कम्पनी को–अपरेटिभ मुरातोरी ई सेमेन्तेस्टी (सिएमसी दी रेभेन्ना) कार्यरत छ। ६ महिनाअघि नै काम सकेमा आयोजनाले ठेकेदार कम्पनीलाई प्रतिदिन ३८ लाख ६१ हजार ७ सय ३५ का दरले ६ महिनाको एकमुष्ठ ६९ करोड ५१ लाख १२ हजार तीन सय रुपैयाँ बोनस दिने भनेको थियो। तर, काम नसकिने भएपछि ठेकेदार कम्पनीले बोनस रकम गुमाएको छ।


